काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न नसक्ने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित मिडिया नेपालको ९औँ वार्षिकोत्सव समारोहमा उनले देश एउटा परिवर्तनको संघारमा पुगेको भन्दै एक दुई जना कसैले चाहेर परिवर्तन नरोकिने बताएका हुन् ।
उनले भने, ‘सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश एउटा परिवर्तनको संघारमा पुगेको छ । यो अब एक दुई जना कसैले चाहेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर आउन खोजेको परिवर्तनलाई, जनताको भावनालाई अन्देखा गर्ने र दुर्घटनातर्फ लाने काम कसैले गर्नु हुदैँन् । यो रोकिनेवाला छैन । त्यसकारण गलत प्रचार गर्ने र समाजमा भ्रम सिर्जना गर्ने भन्दा पनि समाधानका सुझावहरू दिनुपर्छ ।’
यसको साथै, उनले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प नभएको भन्दै राजसंस्था र प्रजातन्त्र सँगै जान सक्ने बताए ।
उनले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले आज सबैको उपस्थितिमा के आग्रह गर्न चाहन्छु भने राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प होइन । राजसंस्था र प्रजातन्त्र सँगसँगै जान सक्छ, राजा र प्रजातन्त्र सँगै जान सक्छ ।’
सोही कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल सम्बन्धी विधेयक हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भए पनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको भन्दै यो विधेयक जस्ताको त्यस्तै पास भयो भने स्वतन्त्रता र प्रजातन्त्र पूरै मासिने बताए ।
उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ यो अति खतरनाक छ । विधेयक जस्ताको त्यस्तै पास भयो भने यो देशमा स्वतन्त्रता र प्रजातन्त्र पूरै मासिन्छ । यो सरकारको युनिटमा छ, यो व्यापक खतरनाक छ । कुनै पनि मान्छेले लेख्न, कुनै आइडी बनाउनको लागि देखि हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भए पनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको छ ।’
पार्टीका नेता धवल शमशेर राणाले नेपालमा चलेको परिवर्तनको हावालाई अहिलेका मिडिया हाउसहरूले स्वीकार नगरेको भन्दै कति दिन नजरअन्दाज गर्ने हो हेर्नै बाँकी रहेको बताए ।
प्रतिक्रिया