+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङको बुर्तिबाङमा प्रभु बैंकले मनायो ग्लोबल मनी विक

पालिका लाइभ
२०८१ चैत्र ४, सोमबार १५:०६ बजे

बागलुङ– ग्लोबल मनी वीक २०२५ को अवसरमा प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले बागलुङको पश्चिम भेगमा रहेको बुर्तिबाङमा एक विशेष वित्तीय जनचेतनामूलक र्‍याली आयोजना गरेको छ।

‘अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। अरूका कुरा सुनौँ, तर आधिकारिक स्रोतलाई मात्र विश्वास गरौँ’ भन्ने नाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

र्‍यालीमा स्थानीय विद्यालयका विद्यार्थी, व्यवसायी, बैंकका कर्मचारी तथा सर्वसाधारण गरी दर्जनौँ व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए, जसले स्थानीयलाई वित्तीय ज्ञान प्राप्त गर्न प्रेरित गरेको थियो।

बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पारे। उनले बचत, लगानी, कर्जा व्यवस्थापन र वित्तीय योजना बनाउन सक्नुपर्ने आवश्यकता औँल्याउँदै सचेत नागरिकहरूले सही वित्तीय निर्णय लिनु जरुरी रहेको बताए।

ग्रामीण भेगका मानिसहरूले वित्तीय सेवाको सही प्रयोगबारे जानकारी नपाउँदा विभिन्न समस्याहरू भोग्नुपरेको अनुभव सुनाइयो। प्रभु बैंकका प्रतिनिधिहरूले वित्तीय योजना कसरी बनाउन सकिन्छ, बैंकिङ प्रणालीको सही सदुपयोग कसरी गर्न सकिन्छ? भन्ने विषयमा जानकारी दिँदै आवश्यक परेमा बैंकमार्फत थप परामर्श लिन सकिने बताए।

युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु, व्यक्तिगत तथा पारिवारिक वित्त व्यवस्थापनमा साक्षरता बढाउनु र स्थानीयलाई बैंकिङ प्रणालीसँग जोड्नु मुख्य उद्देश्य रहेको थियो।

प्रभु बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

स्थानीयले बैंकको यो पहललाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा थप यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न अनुरोध गरे।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ