+
Search

ताजा अपडेट +

पपुलर +

गुठी ऐनलाई धेरै चलाउँदैनौँ, केही बुँदा मात्र संशोधन हुन्छ : मन्त्री अधिकारी

पालिका लाइभ
२०८१ चैत्र ५, मंगलवार १९:५५ बजे

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐनको धेरै बुँदा नचलाईकन दुई चारवटा बुँदा मात्र संशोधन गरेर लानुपर्ने बताएका छन् ।

मंगलवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले गुठी ऐन संशोधनको ड्राफ्ट तयार भइसकेको र विज्ञहरूसँग छलफल अगाडि बढाउन बाँकी रहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘अव गुठी ऐनलाई धेरै बुँदा नचलाईकन दुईचार वटा बुँदा मात्र संशोधन गरेर लानुपर्छ भन्ने पक्षमा हामी छौ । ड्राफ्ट तयार भइसकेको र विज्ञहरूसँग छलफल अगाडि बढाउन बाँकी छ । यसलाई कति छिटो लान सकिन्छ भन्ने कुरा सरकारले अगाडि बढाएपछि धेरै प्रक्रियाहरू हुन्छन् ।’

उनले विधेयक बनाउने, कानुन बनाउने, पास गर्ने काम सरकारको भएको भन्दै गुठीले सुझाव मात्र दिने बताए ।

‘गुठीले आफ्नो सुझाव दिने हो विधेयक बनाउने होइन । विधेयक बनाउने, कानुन बनाउने, पास गर्ने सरकारले नै हो । हामी समिति हौँ । गुठीले काम गर्न जनशक्तिको अभाव हुन सक्छ, हामीले चाहेका कुराहरू नभएको हुनसक्छ,’ उनले भने ।

उनले अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोज्दा समस्या हल हुन नसकेको पनि बताए ।

उनले भने, ‘अहिले हामीले स्वर्गद्वारी गुठीको मात्र समस्या हल गर्ने भनेर पेस गर्‍यौँ । त्यो पनि सम्भव भएन । अध्यादेश ल्याएर नपुगेको कुरालाई पुरा गर्न खोजेको त्यो पनि समस्या हल हुन सकेन ।’

आजको समितिमा नेपालको बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्य प्रगतिलगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ