काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।
उनले भने,‘शुक्रवार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । । मानिसलाई घरभित्रै थुनेर बाहरिबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपिट गर्ने ढुंगामुडा, तोडफोड, लुटपात जस्ता आपराधिक घटना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जो सुकै होस्, जुनसुकै करभमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’
उनले यसका योजनाकार को हुन र को को संलग्न छन् भन्ने विषयमा सरकारले छानबिन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए।पूर्वराजा शाहले समाज बिथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ ।
साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ ।
उनले भने,‘यसका योजनाकार को हुन र को को संलग्न छन् । सरकारले यस विषयमा छानबिन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज बिथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गर्नुभएको छ ।’
प्रतिक्रिया