रामेछाप । नेकपा एमालेकी केन्द्रीय सदस्य गीता कार्कीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको वर्तमान सरकार ढाल्न केही तत्त्वहरू सक्रिय रहेको बताउनुभएको छ ।
बुधवार सदरमुकाम मन्थलीमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी रामेछापको पाँचौँ जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य कार्कीले यस्तो बताउनुभएको हो । विगतदेखि नै नेकपा एमाले र एमालेले नेतृत्व गर्ने सरकारलाई असफल बनाउन योजनाबद्ध रूपमा घेरा बन्दी हुँदै आएको उहाँले बताउनुभयो ।
पार्टी र समाजमा उत्पीडित जातीय समुदायका नेता तथा कार्यकर्ताहरूको सक्रियता अझै बढ्नुपर्ने आवश्यकता भएको उहाँले बताउनुभयो । उत्पीडित समुदाय हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने गरी अगाडी आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हाम्रो समाजमा अझै पनि जातीय विभेद रहेकाले यस्ता विभेदका घटनाहरू हुन नदिन नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको भूमिका महत्त्वपूर्ण हुनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया