१४ जेठ, काठमाडौं । स्रोत समितिले दिएको सिलिङभन्दा माथि गएर सरकारले बजेटको अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा हुने स्रोत समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो ।
तर, दुई ठूला दल कांग्रेस र एमालेको सरकार रहेको अवस्थामा दुई पार्टीका कार्यक्रमलाई समायोजन गर्दा निकै ठूलो बजेट बनेको थियो । अझै पनि त्यसमा काँटछाँट भइरहेको मन्त्रालय स्रोतले बताएको छ ।
‘पुरानो सिलिङमा १ खर्ब रुपैयाँ बढाएर करिब २० खर्बको बजेट बन्छ होला,’ स्रोतले भन्यो, ‘त्यसभन्दा माथि जाने ठाउँ छैन ।’ अर्थमन्त्री पौडेलले यस पटक विनियोजनकै चरणबाट अनुशासित बजेट बनाउने दाबी गर्दै आएका थिए । तर, व्यवहारमा सिलिङ समेत तोडेर ठूलो आकारको बजेटको तयारीमा अर्थ जुटेको छ ।
‘त्यो सीमाभित्रै बजेट बनाउने कसरत गरे पनि त्यसो गर्न नसकिएको’ अर्थ मन्त्रालय स्रोतले बतायो । यसअघि स्रोत समितिले दिएको स्रोतको सीमाभित्र रहेर बजेट बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताएका थिए ।
सरकारले चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको थियो । तर, बजेटको अर्धवार्षिक समीक्षा मार्फत सरकारले १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाखमात्र खर्च हुने अनुमान गरेको थियो । २० खर्बको बजेट बनाउँदा गत सालको विनियोजन भन्दा ८ प्रतिशत र संशोधित खर्च अनुमानको तुलनामा १८ प्रतिशत ठूलो हुनेछ ।मन्त्रालय स्रोतका अनुसार मध्यमकालीन खर्च संरचना र स्रोत समितिले दिएको सिलिङबीच रहने गरी बजेट आकार तय गर्ने तयारी गरिएको हो । सरकारले चालु आव १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयन गरिरहेको छ ।
प्रतिक्रिया