+
Search

ताजा अपडेट +

पपुलर +

७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस

4KNationalDaily
२०८२ जेष्ठ १५, बिहीबार १२:३२ बजे

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिनुभएको थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम बनाएको छ । पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ । सो अवसरमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको बताउनुभयो । दिवसका अवसरमा आज साँझ ५ बजे एक होटलमा ‘सगरमाथा समिटर्स समिट’को आयोजना समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ । दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीहरूलाई सम्मान गरिने पर्यटन विभागले जनाएको छ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, एवं सरोकार भएकाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily