सरकारले आज १९ खर्ब बराबरको बजेट ल्याउँदै, सरकारले आज आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्वजनिक गर्दैछ । सरकारले आगामी आर्थिक वर्षकालागि सरकारको आय र व्ययको वार्षिक अनुमानसहितको बजेट सार्वजनिक गर्न लागेको हो । प्रत्येक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ । सोही सीमामा रहेर सरकारले बजेट ल्याउने बताइएको छ । आगामी बजेटमा कर्मचारीको तलब वृद्धि हुने अनुमान गरिएको छ । सरकारले कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने र महंगी भत्तालाई निरन्तरता दिने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ । बजेट भाषणसँगै अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्ने अर्को कार्यसूची राखिएको छ । प्रतिपक्षी दलहरुले बजेट ल्याउन दिने जनाएपछि सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएका थिए ।
सरकारले आज आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्वजनिक गर्दै
२०८२ जेष्ठ १५, बिहीबार १२:४८ बजे

प्रतिक्रिया