काठमाडौं – काठमाडौं -जोड्ने सडक कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने भएको छ । कान्ति लोकपथ अन्तर्गत बागमती नदीको पुलमा मकवानपुरतर्फ बेलिब्रिज सम्पन्न भएसँगै आजदेखि पुल सञ्चालनमा आउने कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले बताउनुभयो । बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न तीन वटा एक्स्काभेटर सहित करिब ५० जना कामदार र प्राविधिक विगत चार दिनदेखि खटिएका थिए । बेलिब्रिजको संरक्षणका लागि ग्याबिन लगाउने कार्य पनि भइरहेको आयोजनाका इन्जिनियर साजन न्यौपानेले बताउनुभयो । गत असोजमा बागमती नदीमा आएको बाढीले पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । वर्षायाम सुरु नहुँदै बागमती नदीमा आएको बाढीले पटक–पटक पहुँच मार्ग बगाएपछि सो स्थानमा बेलिब्रिज जडान गर्न लागिएको हो । कान्ति लोकपथ सडक आयोजनाले चार दिन लोकपथ बन्द गरेर बेलिब्रिज जडान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ बगुवास्थित बागमती नदीको पुलको मकवानपुरतर्फको एउटा स्पान गत वर्षको असोजमा आएको बाढीले बगाएको थियो ।
कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने
काठमाडौं जोड्ने सडक कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने
२०८२ जेष्ठ २५, आईतवार ११:२६ बजे

प्रतिक्रिया