+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधि सभाको बैठक

प्रतिनिधि सभाको बैठक विपक्षी दलको अवरोधबीच आज दिउँसो बस्ने, फेरि अवरोधको सम्भावना

4KNationalDaily
२०८२ जेष्ठ २९, बिहीबार १८:३४ बजे

काठमाडौं — प्रतिनिधि सभा बैठक लगातार विपक्षी दलको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन सकेको छैन। आज दिउँसो ३ बजे बैठक बस्ने गरी बोलाइएको भए पनि फेरि विपक्षी दलले अवरोध पु¥याउने सम्भावना देखिएको छ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन्। सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग पटक–पटक समन्वय गरी बैठक सञ्चालनका लागि आग्रह गरे पनि हालसम्म सफलता प्राप्त गर्न सकेका छैनन्।

सभामुख घिमिरे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया र प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक पनि निष्कर्षविहीन टुंगिएको थियो। हिजो ढिलो सुरु भएको बैठक विपक्षी दलको अवरोधका कारण स्थगित गरिएको थियो।

विपक्षी दलले भिजिट भिसा दुरुपयोग र मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्। दलहरूबीच सहमति नहुँदा जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा फर्कन सकेको छैन।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा आधारित राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्न प्रस्ताव सहितको कार्यसूची संघीय संसदमा प्रस्तुत गरेका छन्।

सरकार पक्षले भने विपक्षी दलको अवरोधका बाबजुद केही दिनभित्रै बैठक सञ्चालन हुने दाबी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily