काठमाडौं — संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज अलग-अलग समय बस्न लागेको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व अवस्थाको अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले दिएको निर्देशनहरूको कार्यान्वयन प्रगतिको विषयमा छलफल हुनेछ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ। बैठकमा केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।
यसैगरी, आज विश्वभर बाल श्रम विरुद्धको दिवस पनि मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को तथ्यांक अनुसार हाल विश्वमा करिव १६ करोड बाल श्रमिक रहेका छन्, जसमा ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको संख्या पछिल्लो समय बढ्दो छ। विशेष गरी अफ्रिका र एशियामा बाल श्रमिकको संख्या सबैभन्दा बढी रहेको छ। कोभिड-१९ महामारीपछि सुस्ताएको अर्थतन्त्रका कारण बाल श्रमिकहरूको संख्या फेरि बढ्न थालेको आईएलओले जनाएको छ।
नेपालमा भने बाल श्रमिकको संख्या घट्दै गएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१२ मा १६ लाख बाल श्रमिक रहेको देखाएको भए पनि सन् २०२१ मा यो संख्या ११ लाखमा झरेको तथ्याङ्क सार्वजनिक गरेको छ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बाल श्रम विरुद्धको दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। यस दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षित बाल्यकाल सुनिश्चित गर्न थप प्रयास गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ।
आजको दिवसको नारा छ — “प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासलाई तीव्र बनाऔं।” रोजगारदाता, श्रमिक संगठन र नागरिक समाजले बाल श्रमको अन्त्यका लागि आवाज उठाउँदै छन्।
लेखकको बारेमा

प्रतिक्रिया