काठमाडौं — अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले नेपाललाई प्रदान गर्दै आएको विस्तारित कर्जा सुविधा (ECF) अन्तर्गत छैटौं किस्ताका लागि स्थलगत समीक्षा सम्पन्न गरेको छ।
IMF को टोलीले गत मे २६ देखि जुन १० सम्म काठमाडौंमा बसेर मूल्यांकन गरेको थियो। अब टोलीले तयार पारेको प्रतिवेदन IMF को व्यवस्थापन र कार्यकारी समितिबाट स्वीकृत भएपछि नेपालले छैटौं किस्ताबापत झण्डै पौने ५ अर्ब रुपैयाँ प्राप्त गर्नेछ।
IMF ले नेपाललाई आर्थिक सुधार र बजेट प्रणाली सुदृढीकरणका लागि कुल ४९ अर्ब रुपैयाँ बराबरको विस्तारित कर्जा सुविधा उपलब्ध गराउने सहमति यसअघि नै भइसकेको छ।
यो सुविधा प्राप्त गर्ने क्रममा नेपालले हालसम्म पाँच किस्ताको रकम भुक्तानी गरिसकेको छ। छैटौं किस्ताका लागि गरिएको यो स्थलगत समीक्षा पछिको प्रक्रिया पूरा भएपछि नेपालले बाँकी रकम भित्र्याउनेछ।
ECF कार्यक्रम विशेषगरी नेपालको वित्तीय क्षेत्र सुधार, बजेटरी अनुशासन, तथा विदेशी मुद्रा सञ्चिति सुधार गर्न लक्षित छ। अघिल्लो वर्ष विदेशी मुद्रा सञ्चिति उच्च दरले घट्दा र शोधनान्तर स्थिति नकारात्मक हुँदा नेपालले IMF सँग कर्जा सुविधा लिन सम्झौता गरेको थियो।
सरकारले यो सुविधालाई आर्थिक स्थायित्व कायम गर्न र रणनीतिक सुधारहरू कार्यान्वयन गर्न सहयोगी माध्यमको रूपमा लिएको जनाएको छ।
प्रतिक्रिया