✍ लेखनाथ सिकारू
काठमाडौं, जेठ ३१ –आज विश्वभर विश्व रक्तदाता दिवस मनाइँदैछ। मानव जीवन बचाउने एक पवित्र कार्य — रक्तदानको महत्व र रक्तदाताप्रतिको सम्मान दर्शाउने उद्देश्यले यो दिवस विशेष रूपमा मनाइन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी स्वयंसेवी रक्तदाताहरूको योगदानलाई कदर गरिँदैछ।
यो दिवस सन् २००४ देखि प्रत्येक वर्ष जुन १४ मा मनाइँदै आएको हो। यिनै दिन विश्वविख्यात वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पनि हो, जसले मानव रक्त समूह (ब्लड ग्रुप) को खोज गरेर चिकित्सा क्षेत्रमा क्रान्ति ल्याएका थिए।
रक्त किन आवश्यक छ?
रगत जीवनको आधार हो। यसले अक्सिजन, पोषक तत्व, हर्मोन, इम्युन प्रणालीका तत्वहरू शरीरका विभिन्न अंगसम्म पुर्याउँछ। साथै, शरीरबाट हानिकारक पदार्थ हटाउने कार्य पनि रगतले गर्छ।
एक स्वस्थ व्यक्तिको शरीरमा औसत ५.५ लिटर रगत हुन्छ। यसमध्ये:
-
५५% हुन्छ प्लाज्मा (पानी, प्रोटिन आदि)
-
४५% हुन्छन् रक्तकणहरू (रातो रगतकोष, सेतो रगतकोष, प्लेटलेट्स)
रक्तदान: पुन्यको अवसर
रक्तदानबाट मृत्युको मुखमा पुगेका विरामीको ज्यान बच्न सक्छ। १८–६५ वर्ष उमेर समूहका स्वस्थ व्यक्तिले प्रत्येक ३ महिनामा एकपटक रक्तदान गर्न सक्छन्। चिकित्सकहरूका अनुसार रक्तदानले शरीरलाई नोक्सान नगरी नयाँ रगत निर्माण गर्न उत्प्रेरित गर्छ।
रक्तदानले तीनवटा प्रमुख तत्वहरू छुट्याउन सकिन्छ — जसबाट तीनजनासम्मको जीवन बचाउन सकिन्छ। त्यसैले यसलाई “जीवनदान” भनिन्छ।
रक्तदानसम्बन्धी सामान्य भ्रमहरू
१. कमजोरी हुन्छ – गलत, शरीरले केही दिनमै नयाँ रगत बनाउँछ।
२. मुटुरोग वा मोटोपन भएकाले गर्न नमिल्ने – डाक्टरको सल्लाहमा गर्न सकिन्छ।
३. पीडा हुन्छ – सामान्य सुईको झिनो चिमोटमात्र।
४. सबैले रक्तदान गर्न सक्छन्? – होइन, केही स्वास्थ्य अवस्थाहरूमा रक्तदान मिल्दैन।
रक्तदाताको सम्मान अपरिहार्य
स्वयंसेवी रक्तदाताहरू समाजका साँचो नायक हुन्। उनीहरूको योगदान कदर गर्न:
-
विशेष रक्तदाता परिचय कार्ड
-
आकस्मिक अवस्थामा प्राथमिक उपचार पहुँच
-
सार्वजनिक सेवामा सहुलियत
-
राष्ट्रिय सम्मान कार्यक्रम
जस्ता योजनाहरूको आवश्यक्ता छ।
निष्कर्ष
रगत न त कृत्रिम रूपमा बनाइन्छ, न त दीर्घकालसम्म भण्डारण गर्न सकिन्छ। त्यसैले हामी सबैले जीवन दिन सकिने यो महान कार्य — रक्तदान — नियमित रूपमा गर्नुपर्छ।
आजको दिन संकल्प गरौं:
“रगत खेर जान नदिऔं, जीवनदान गरौं!”
प्रतिक्रिया