+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

4KNationalDaily
२०८२ असार ५, बिहीबार १९:४२ बजे

नवलपरासी — लगातारको वर्षाका कारण बुटवल–नारायणगढ सडक खण्डको विनयी खोलामा पर्ने डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गको उक्त खण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। दुम्कीबास–दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लिएर सवारी साधन फस्ने समस्या देखिएपछि सो खण्डमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

दाउन्ने क्षेत्रमा हिलोमा फसेको गाडी निकाल्न नसकिँदा करिब ६५ किलोमिटर लामो सवारी जाम परेको छ र राजमार्ग ३० घण्टादेखि पूर्ण रूपमा अवरुद्ध छ।

प्रहरीले सुझाएको वैकल्पिक मार्गहरू:

  • पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरूले नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल पुग्नुपर्नेछ।

  • काठमाडौँबाट पश्चिमतर्फ जाने सवारी साधनहरूले पनि मुग्लिङ–पोखरा–स्याङ्जा मार्ग प्रयोग गर्नुपर्नेछ।

  • पश्चिमबाट पूर्वतर्फ आउँदा सवारी साधनहरू बुटवल हुँदै स्याङ्जा, पोखरा र मुग्लिङको बाटोबाट यात्रा गर्न सक्नेछन्।

  • साना सवारी साधनका लागि कालिगण्डकी कोरिडोर अन्तर्गतको गैँडाकोट–पिपलडाँडा सडक खण्ड विकल्पको रूपमा खुला छ।

बुटवल–दाउन्ने सडक खण्डमा विनयी खोलाको डाइभर्सन निरन्तर बगाउँदा सडक समस्या झन् बढ्दै गएको छ।

प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न पुनः अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily