+
Search

ताजा अपडेट +

पपुलर +

अछाम–बाजुराका पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ विमोचन

अछाम–बाजुराका पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ विमोचन

4KNationalDaily
२०८२ असार १८, बुधबार ०८:४० बजे

काठमाडौं । अछाम–बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद तथा समाजसेवी दिलबहादुर कुँवर (बूढथापा)को जीवन, संघर्ष र योगदानमाथि केन्द्रित स्मृतिग्रन्थ मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त ग्रन्थको विमोचन गर्दै बूढथापाको योगदान परिवार र सुदूरपश्चिमको मात्रै नभएर सिङ्गो राष्ट्रकै गौरव रहेको उल्लेख गरे।

उनले बूढथापाको राजनैतिक योगदानसँगै सामाजिक रूपान्तरणमा पुर्‍याएको भूमिकालाई स्मरण गर्दै भने, “राणा शासनको दमनकारी अवस्थामा आफ्नै घरमा विद्यालय खोल्ने उनको कदम साँच्चै क्रान्तिकारी थियो। यसले समाजलाई शिक्षित, सचेत र संगठित बनाउने आधार खडा गर्‍यो।”

नेता बडूले बूढथापाको जीवनवृत्तबाट आजको पुस्ताले सामाजिक सेवा, त्याग र नेतृत्व सिक्नुपर्ने बताए। उनले स्मृतिग्रन्थलाई भावी पिँढीका लागि ऐतिहासिक दस्तावेजको रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अछाम क्षेत्र नम्बर १ का सांसद शेरबहादुर कुँवरले अछाम–बाजुराका प्रथम सांसदको योगदानलाई लिपिबद्ध गर्ने प्रयासले इतिहासको महत्त्वपूर्ण पक्षलाई उजागर गरेको बताए।

उनले भने, “उहाँको प्रयासमा अछाममा मालपोत कार्यालय स्थापना भयो। पाँच सयभन्दा बढी युवाहरूसहित डोटी बजारमा तालाबन्दी गर्ने आन्दोलनको नेतृत्व गरेर उनले स्थानीय जनतालाई अधिकारबोध गराए। साथै, बयालपाटा, श्रीकोट लगायतका स्थानमा विद्यालय स्थापनामा उहाँको योगदान अद्वितीय छ।”

शेरबहादुर कुँवरले स्मृतिग्रन्थ भावी पुस्ताका लागि प्रेरणादायी दस्तावेज हुनेमा विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कुलबहादुर कुँवरले बूढथापाको जीवनले आफूसहित धेरैलाई भ्रष्टाचारविरुद्ध बोल्न र समाजसेवामा लाग्न प्रेरणा दिएको उल्लेख गरे।

उनले भने, “पहिलो निर्वाचित सांसद भएर पनि उहाँ सधैं सादा जीवन र उच्च सोचमा अडिग रहनुभयो। गाउँका समस्यालाई आफ्नै समस्याजस्तो लिएर समाधान गर्न सक्रिय हुनुभयो।”

कार्यक्रममा स्मृतिग्रन्थको समीक्षा गर्दै वरिष्ठ साहित्यकार प्रमोद दाहालले यो कृति इतिहासका विद्यार्थीका लागि गहन शोधको आधार बन्नसक्ने बताए।

उनले भने, “यसमा नयाँ र रोचक ऐतिहासिक तथ्यहरू उजागर भएका छन्। पठनमा गहिराइ र तथ्यको प्रामाणिकता छ। भविष्यमा पीएचडी तहका अनुसन्धानका लागि समेत उपयोगी हुने पुस्तक हो।”

स्मृतिग्रन्थका प्रधानसम्पादक विमल भौकाजी रहेका छन् भने सम्पादक मण्डलमा शेरबहादुर कुँवर, प्रेमबहादुर कुँवर र कुलबहादुर कुँवर रहेका छन्।

स्मृतिग्रन्थ दिलबहादुर कुँवर (बूढथापा)का ज्येष्ठ सुपुत्र पूर्वराजदूत बलबहादुर कुँवर र बुहारी शान्ता कुँवर श्रेष्ठको प्रयासमा प्रकाशित भएको हो।

पूर्वराजदूत बलबहादुर कुँवरले कार्यक्रममै बोल्दै भने, “मृतप्रायः भएको यो गौरवमय इतिहासको उत्खनन गरी जीवन्त बनाउने सानो प्रयास गरेका छौं। यो हाम्रो पुर्खाको स्मृति मात्रै होइन, भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत होस् भन्ने चाहना छ।”

वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा दिलबहादुर कुँवर बूढथापा अछाम–बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ बाट विजयी भएका थिए। उनले तत्कालीन सेती–महाकाली क्षेत्रमा सबैभन्दा धेरै ९ हजार ६ सय ५ मत ल्याएका थिए।

नेपाली कांग्रेस अछामका प्रथम निर्वाचित सभापति समेत बनेका उनी वि.सं. २०१७ सालमा भएको पार्टीको सातौं केन्द्रीय महाधिवेशनबाट बिपी कोइरालाको अध्यक्षतामा गठित ३२ सदस्यीय केन्द्रीय कार्यसमितिमा पनि निर्वाचित भएका थिए।

उनको जन्म वि.सं. १९६४ असार १७ गते अछाममा भएको थियो। उनले जीवनभर समाजसेवा, शिक्षा प्रसार, भ्रष्टाचारविरोधी अभियानमा सक्रिय भूमिका खेले।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily