+
Search

ताजा अपडेट +

पपुलर +

डा. गुरू कुमारन स्वामीको नेपाल भ्रमण: धार्मिक अभियानसँगै लगानीको सम्भावना खोज्दै

4KNationalDaily
२०८२ श्रावण २२, बिहीबार १०:२० बजे

काठमाडौं, साउन २१ गते। भारतका प्रख्यात अन्तर्राष्ट्रिय सन्त, आध्यात्मिक अभियन्ता तथा उद्यमी डा. गुरू कुमारन स्वामीले नेपाल भ्रमणका क्रममा नेपालमा उद्योग तथा व्यवसायमा लगानी गर्ने गहिरो इच्छा व्यक्त गरेका छन्। पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा हाल जारी दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन नेपाल आएका गुरूजीले नेपाली उद्यमी, व्यवसायी तथा वाणिज्य क्षेत्रका अगुवासँग भेट गर्दै नेपालमा लगानीको सम्भावनाबारे गम्भीर छलफल गरेका हुन्।

डा. स्वामीले साउन १८ गते नेपाल आइपुगेसँगै विभिन्न औद्योगिक घराना, व्यापारिक संघका प्रतिनिधिहरूसँग मङ्गलबार र बुधबार दुई चरणको संवाद गरेका थिए। महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाका अनुसार ती संवादहरुमा नेपालको लगानी वातावरण, सरकारी सहयोगका उपाय र सम्भावित क्षेत्रहरुको बारेमा विस्तृत रुपमा छलफल भएको थियो।

धार्मिक भावनामा विकासको मार्ग

भारतको प्रसिद्ध धार्मिक व्यक्तित्व श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंस कालिदास बाबा (कालीबाबा) द्वारा संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञ साउन १४ गतेदेखि हंशमण्डपमा जारी छ। महायज्ञको मुख्य उद्देश्य नेपालमा धार्मिक पर्यटनको प्रवर्द्धन गर्दै आर्थिक विकासको मार्ग खोल्नु हो। डा. कुमारन स्वामी त्यसै महायज्ञमा सहभागी हुन आएका हुन्।

कालीबाबाका अनुसार नेपालमा धार्मिक आस्थासँगै शान्ति, समृद्धि र नागरिकको हितका लागि महायज्ञ आयोजना गरिएको हो। “नेपालमा लगानी भित्रियोस्, समुन्नति होस्, जनताले सुख पाउन् भन्ने नै हाम्रो कामना हो,” कालीबाबाले स्पष्ट पारे।

व्यापार र धर्मको समिश्रित दृष्टिकोण

डा. स्वामीको यात्रालाई विशुद्ध धार्मिक मात्र नभइ व्यावसायिक उद्देश्यसँग पनि जोडिएको देखिन्छ। विश्वका धेरै देशमा उद्योग, कलकारखाना र व्यापार सञ्चालन गरिरहेका गुरू कुमारन स्वामीले नेपालमा पनि यस्तै खालका सम्भावना देखेका छन्। “सन्तले पनि असल उद्यम कर्म गर्नुपर्छ भन्ने मान्यताका साथ म काम गर्छु। नेपाल र भारतले आर्थिक समृद्धिको यात्रा सँगसँगै अघि बढाउनुपर्छ,” स्वामीले भने।

नेपालमा लगानी गर्न चाहने विश्वस्त व्यक्तित्व

डा. स्वामीले नेपालका औद्योगिक घरानासँग बहुपक्षीय छलफल गरेर यहाँ लगानीको वातावरणको अध्ययन गरिरहेका छन्। सम्भावित लगानी क्षेत्रका रुपमा धार्मिक पर्यटन, आयुर्वेदिक चिकित्सा, हर्बल उत्पादन, शिक्षा र जैविक कृषि क्षेत्र उल्लेख गरिएका छन्। डा. थापाले यस किसिमका छलफल र सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा राखेका छन्।

महायज्ञ साउन २४ गतेसम्म चल्ने

साउन १४ गतेदेखि सुरु भएको दशमहाविद्या रुद्रहवन महायज्ञ साउन २४ गते समापन हुने कार्यक्रम तय भएको छ। महायज्ञमा भारतका विशिष्ट पाहुनाहरुको आगमन जारी रहेको डा. थापाले जानकारी दिए।

नेपालमा धार्मिक भावनालाई प्रवर्द्धन गर्दै समृद्धिको बाटोमा सहकार्यको सन्देश दिन आएका डा. गुरू कुमारन स्वामीको यो भ्रमण आध्यात्मिक र आर्थिक दृष्टिकोणले महत्वपूर्ण ठहरिने देखिन्छ। धार्मिक अभियानसँगै लगानीको नयाँ ढोका खोल्ने प्रयासमा डा. स्वामीको यस पहलले नेपालमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily