+
Search

ताजा अपडेट +

पपुलर +

नदीमा पानीको बहाव बढेपछि घण्टीले दिनेछ सूचना

नदीमा पानीको बहाव बढेपछि घण्टीले दिनेछ सूचना

4KNationalDaily
२०८२ भाद्र ८, आईतवार १०:५५ बजे

काठमाडौँ ।
ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन पूर्व सूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) जडान गरेको छ। उपत्यकाभित्र नै पहिलो पटक यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो।

महानगरले हाल वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ को नख्खु खोला नजिक अर्ली वार्निङ सिस्टम जडान गरेको छ। महानगरको विपद् व्यवस्थापन शाखाका अनुसार यो प्रणालीबाट पानीको बहाव आकस्मिक रूपमा बढेमा घण्टी बज्नेछ र त्यसको आवाज झण्डै २ किलोमिटरसम्म सुनिनेछ।

उद्देश्य

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले अर्ली वार्निङ सिस्टम जडान गर्नुको उद्देश्य नागरिकलाई सतर्क गराई जनधनको क्षति न्यूनीकरण गर्ने रहेको बताए। उनका अनुसार यस प्रणालीले आकस्मिक बाढीबाट हुने दुर्घटना र मानवीय क्षतिको जोखिम घटाउनेछ।

थप तयारी

विपद् व्यवस्थापन शाखाले जानकारी दिएअनुसार, केवल घण्टीको आवाज मात्र नभई बाढीको अवस्थाबारे नगर प्रहरी, वडा कार्यालय र सरोकारवालालाई सूचना दिने संयन्त्र पनि जडान गर्ने तयारी भइरहेको छ। यसले विपद् व्यवस्थापनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

हालसम्म उपत्यकामा पूर्व सूचना प्रणाली प्रयोगमा ल्याइएको पहिलो उदाहरण भएकाले यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ। बर्खायाममा खोला र नदीमा आकस्मिक बहाव बढ्दा मानवीय क्षति हुने गरेका घटना विगतमा पटक–पटक घटेका थिए।
यसपटकको प्रविधिले कम्तीमा सतर्कता बढाउने र जोखिम कम गर्ने विश्वास सरोकारवालाले लिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily