+
Search

ताजा अपडेट +

पपुलर +

पाँच दिन लामो संकटपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त

पाँच दिन लामो संकटपछि सुशीला कार्की प्रधानमन्त्री नियुक्त

4KNationalDaily
२०८२ भाद्र २८, शनिबार ०७:११ बजे

काठमाडौं, भदौ  – देश पाँच दिन लामो राजनीतिक तनाव र अनिश्चिततापछि अन्ततः नयाँ प्रधानमन्त्री पाएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको घोषणा गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले असाधारण परिस्थितिलाई सम्बोधन गर्ने संवैधानिक अधिकार प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको जनाइएको छ। विज्ञप्तिमा भनिएको छ– “मुलुकमा उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा व्यक्त गरिएको आकांक्षा र इच्छाअनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।”

शुक्रबार राति नै कार्कीले शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न शपथ समारोहमा परम्परागत दलका नेताहरूभन्दा जेनजी पुस्ताका युवाको बाक्लो उपस्थिति रह्यो। शपथपछि कार्कीले युवा आन्दोलनका प्रतिनिधिसँग हात समाउँदै खिचिएको तस्वीरले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेले कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र नयाँ निर्वाचन गराउने उल्लेख गरेका छन्।

यद्यपि, राष्ट्रपतिले संसद् विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको निर्णयप्रति परम्परागत दलहरूको आपत्ति छ। माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै यो कदमप्रति गम्भीर असहमति जनाएको छ। कांग्रेसभित्र पनि संसद् विघटन नगरी वैकल्पिक बाटो खोजिनुपर्ने मत बलियो थियो।

तर, अन्तिममा सेना र जेनजी आन्दोलनको दबाबबीच राष्ट्रपति पौडेलले युवाको प्रस्तावलाई नै प्राथमिकता दिए।

भदौ २३ गतेको भ्रष्टाचारविरोधी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो। त्यसपछि नेपाली सेनाले सुरक्षा संयन्त्र नियन्त्रणमा लिएर जेनजी प्रतिनिधिहरूसँग निरन्तर संवाद सुरु गरेको थियो।

जेनजीले डिजिटल भोटिङमार्फत सुशीला कार्कीलाई नेतृत्वका लागि चयन गरेका थिए। सेनापति अशोकराज सिग्देलले सो सन्देश राष्ट्रपतिसम्म पुर्‍याएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।

तर दलहरू संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने पक्षमा थिए। जेनजीका केही प्रतिनिधि र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने संसद् विघटनलाई अनिवार्य मानिरहेका थिए। यही विषयमा दुई दिनसम्म वार्ता अल्झिएको थियो।

शुक्रबार दिउँसो सेनापतिले संकटकालको विकल्प अघि सारेपछि राष्ट्रपतिले अन्ततः जेनजीको मागअनुसार कार्कीलाई नियुक्त गरेका थिए।

शपथसँगै सुशीला कार्कीले प्रधानमन्त्रीको कार्यभार सम्हालेकी छन्। तर मन्त्रीहरूको नाम भने अझै टुंगो लागेको छैन। चर्चामा रहेका नामहरूमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व कुलमान घिसिङ र केही पूर्वसेनाधिकारीहरू रहेका छन्।

सरकारले तत्कालै मन्त्री घोषणा नगरी आगामी दिनमा छलफल गरेर मात्र अघि बढ्ने संकेत गरेको छ।

जेनजी पुस्ताका प्रतिनिधिहरूले कार्कीको नियुक्तिलाई आफ्नो आन्दोलनको जितका रूपमा लिएका छन्। अभियन्ता युजनराज भण्डारीका अनुसार, “यो सरकार हाम्रो पुस्ताको सरकार हो, भ्रष्टाचारमा कुनै सम्झौता नगर्ने सरकार हो।”

उनको भनाइमा, ६ महिनापछि हुने चुनावबाट अझ बलियो म्यान्डेटसहित नयाँ सरकार आउँदा भ्रष्टाचारको जरा उखेलेर फालिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily