+
Search

ताजा अपडेट +

पपुलर +

बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ

बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ

4KNationalDaily
२०८२ बैशाख १२, शुक्रबार ०९:५१ बजे

बर्खे अधिवेशन आजदेखि सुरु, संघीय संसद्का दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन बोलाइएको हो । दुवै सदनको बैठक दिउँसो १ बजे बोलाइएको छ । मन्त्रीपरिषद्को सिफारिशमा संविधानको धारा ९३ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आव्हान गर्नु भएको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची राखिएको छ । यसैगरी अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने छन् । एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनलाई सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ । त्यस्तै, आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नु पर्ने छ । वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । १९ गते राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ । प्री बजेट छलफल भने वैशाख २८ गते देखि सुरु गर्ने तयारी गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ । यसै अधिवेशन मार्फत लामो समयदेखि रोकिएका निजामती र विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत भई निष्कर्षमा लैजानु पर्ने दबाब पनि संसदमाथि बढेको छ । बजेट अधिवेशन भएपनि सरकारले शिक्षा विधेयक यही अधिवेशनमा पेस गर्ने प्रतिवद्धता जनाएको छ । यसैबीच, बजेट अधिवेशनमा दलहरूले पनि आआफ्नो रणनीति बनाएर प्रस्तुत हुने तयारी गरेका छन् । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले बजेट अधिवेशनमा शसक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बजेट अधिवेशनको छलफलमा सशक्त भूमिका निर्वाह गर्ने बताएको छ । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily