+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक अब सहमतिका आधारमा बस्ने, मेयर बालेन्द्र साहको घोषणा

4KNationalDaily
२०८२ जेष्ठ २९, बिहीबार १८:४० बजे

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक अब सहमतिका आधारमा बस्ने, मेयर बालेन्द्र साहको घोषणा

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिकाको बैठक अब आपसी सहमतिमा बस्ने बताउनुभएको छ। महानगरका उपमेयर सुनिता डंगोल र अन्य तीन जना कार्यपालिका सदस्यसँगको छलफलपछि यस्तो निर्णय भएको हो।

मेयर साहले कार्यपालिका बैठक बस्न नसक्दा उहाँहरूबीच विभिन्न शंका र उपशंका देखा परेको स्वीकार्दै आगामी दिनमा नगरपरिषद् र कार्यपालिकाको बैठक सहमतिका आधारमा नियमित रुपमा बस्ने बताएका छन्।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, असार १५ भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसअघि हुनुपर्ने नीति तथा कार्यक्रम सम्बन्धी छलफलहरू नियमित हुन सकेका थिएनन्। नीति तथा कार्यक्रम तयार भएपछि नगरपरिषद्को बैठक बस्ने तयारी भइरहेको छ।

यसपछि कार्यपालिकाको बैठक बसेर बजेट पारित गर्नुपर्ने भए पनि गत पुस १४ यता बैठक बस्न सकेको थिएन। असार १५ भित्र बजेट नल्याए आर्थिक कारोबार रोकिन सक्ने जोखिम बढेपछि उपमेयर डंगोल र प्रवक्ता मानन्धरको पहलमा बैठक बस्न सफल भएको बुझिएको छ।

गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेश गर्न रोक लगाएपछि उत्पन्न विवादका कारण मेयर, उपमेयर र कार्यपालिका सदस्यबीच सम्बन्ध चिसिएको थियो।

तर अब सहमतिका आधारमा बैठक सञ्चालन गरी महानगरपालिकाको कामकाज प्रभावकारी बनाउन पहल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily