काठमाडौं, एएफसी एसियन कप छनोट खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली गएराति स्वदेश फर्किएको छ। लाओससँगको निर्णायक खेलमा २–१ गोलले पराजित भएपछि टोली काठमाडौं आइपुगेको हो।
नेपालले यसपटकको छनोटमा अंकको खाता खोल्ने लक्ष्य लिएर मैदानमा उत्रिएको थियो। तर, मलेसिया र लाओस दुबैसँग हार बेहोरेर नेपाल समूह चरणमै बाहिरिएको छ। पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा अपेक्षा विपरीत लाओससँग पनि पराजित भयो। यो हारसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लाओससँग नेपालको पहिलो हार समेत बनेको छ।
लाओससँग प्रतिस्पर्धा गर्नु अघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जसमा बलियो हङकङलाई गोलरहित बराबरीमा रोक्दा नेपाली समर्थकमाझ आशा जागेको थियो। तर, लाओससँगको पराजयले त्यो आशामा धक्का लागेको छ।
नेपाली टोलीको प्रदर्शनप्रति निराशा व्यक्त गर्दै समर्थकहरूले टिम व्यवस्थापन र तयारीको विषयमा प्रश्न उठाएका छन्। अब एन्फाले टोलीको समग्र प्रदर्शनको मूल्याङ्कन गर्दै सुधारका रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया