क्वालालम्पुर, मलेसिया — साउन ५
गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियामा लामो समयदेखि देखिएको विवाद अन्त्य गर्दै संस्था एकताबद्ध भएको छ। क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा शनिबार सम्पन्न ‘एकताको निम्ति बृहत भेला’ बाट संघको अधिवेशन आगामी ३० र ३१ अगष्ट २०२५ मा गर्ने सहमति जुटेको हो।
कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघसंस्था, एनआरएनए मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा अधिवेशन मिति, सदस्यता वितरण तथा निर्वाचन प्रक्रिया तय गरिएको हो। सहमति अनुसार २१ जुलाईदेखि दुई सातासम्म सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण खुला हुनेछ। सदस्यता शुल्क २० रिङ्गेट तोकिएको छ।
एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) उपाध्यक्ष खगेन्द्र न्यौपानेले बृहत भेलामा बोल्दै भने, “संस्था फुट्न नदिई सबैलाई समेटेर एकीकृत अधिवेशन गर्नुपर्ने आवश्यकता थियो, जुन आजको सहमतिले सम्भव भएको छ।” उनले केन्द्रमा जे भए पनि मलेसियामा आपसी मेलमिलाप र सहकार्यको भावना कायम रहनुपर्नेमा जोड दिए।
एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले विगतका समस्या संवादबाट समाधान गर्न सकिने भन्दै सबैले मिलेर अघि बढ्नुपर्ने धारणा राखे। “तिललाई पहाड बनाउनु हुँदैन, अब समाधानको बाटोमा हिँड्नु आवश्यक छ,” उनले भने।
संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा रहेको सहयोग र भाइचाराको संस्कृति एनआरएनएमा पनि झल्किनुपर्ने बताए। अध्यक्ष राकेश महतोले विगतका कटुता भुलेर संस्था समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले अघिल्लो अधिवेशनमा दुई अध्यक्षबीच पालैपालो नेतृत्व दिने समझदारी भए पनि कार्यान्वयनमा कमजोरी देखिएको बताए। “अब विगत कोट्याउने होइन, संस्था समृद्ध बनाउनेतर्फ लागौं,” उनको सुझाव थियो।
मलेसियाका पर्यटन दूत नेत्र केसीले नयाँ ऊर्जा र एकताका साथ अघि बढ्न सहमत भएकामा खुशी व्यक्त गर्दै एनआरएनए मलेसियाले विश्वभरका एनआरएनहरूलाई सकारात्मक सन्देश दिएको बताए।
राजनीतिक दल, व्यवसायी र युवाहरूको साझा प्रतिबद्धता
नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमाल र माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संस्थामा आपसी संवाद र सहमतिको खाँचो औंल्याउँदै अब फुट होइन, मिलन आवश्यक रहेको बताए। युवा संयोजक राजु लामाले नेतृत्व तहको झगडाले युवामा नकारात्मक प्रभाव परेको गुनासो गर्दै जवाफदेहिता माग गरे।
अन्य सहभागीहरूले पनि व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितमा ध्यान दिनु पर्ने धारणा राख्दै विगतका कमजोरीबाट सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
संयुक्त समिति गठन र सबै संस्थाको हस्ताक्षर
भेलामा सहमति अनुसार अधिवेशन आयोजनाका लागि अध्यक्ष राकेश महतोको संयोजकत्वमा समिति गठन गरिएको छ। कार्यक्रमको अन्त्यमा मलेसियामा रहेका सबै संघसंस्थाले सहमतिपत्रमा हस्ताक्षर गर्दै एकताको प्रतिबद्धता जनाएका थिए।
यस सहमतिसँगै एनआरएनए मलेसिया लामो समयदेखि जारी असहमतिबाट मुक्त हुँदै एकताबद्ध संस्थाका रूपमा अघि बढ्ने बाटोमा लागेको छ।
प्रतिक्रिया