+
Search

ताजा अपडेट +

पपुलर +

भियतनामकी उपराष्ट्रपति नेपाल भ्रमणमा, उपराष्ट्रपति यादवसँग द्विपक्षीय भेटवार्ता

भियतनामकी उपराष्ट्रपति नेपाल भ्रमणमा, उपराष्ट्रपति यादवसँग द्विपक्षीय भेटवार्ता

4KNationalDaily
२०८२ भाद्र ८, आईतवार ११:०३ बजे

काठमाडौँ, साउन २५ – नेपाल भ्रमणमा रहनुभएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले आज नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका अनुसार, उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा सुआन हिजोदेखि तीन दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्।

उहाँको भ्रमण कार्यक्रमअनुसार हिजो उपराष्ट्रपति सुआनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता पनि गर्नुभएको थियो। यस अवसरमा दुवै पक्षले नेपाल–भियतनाम सम्बन्धका विविध आयाम, द्विपक्षीय हितका विषयहरू, तथा आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यका सम्भावनाहरूमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भियतनामको तर्फबाट उपराष्ट्रपति सुआनको यो भ्रमण नेपालमा पहिलो उच्चस्तरीय भ्रमण हो। नेपाल र भियतनाम दुवै असंलग्न राष्ट्र अभियानसमूह ७७ का सदस्य राष्ट्र भएका कारण साझा वैश्विक एजेन्डा अघि बढाउन दुवै मुलुकले निरन्तर सहयोग गर्दै आएका छन्।

विशेषत: यो वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठ भएकोले, उपराष्ट्रपति सुआनको भ्रमणलाई दुई देशबीचको ऐतिहासिक साझेदारी र मित्रता प्रवर्धन गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा द्विपक्षीय सम्झौता र समझदारी पत्र (MoU) को संभावनाहरू, पर्यटन, शिक्षा, व्यवसाय र प्रविधि क्षेत्रमा सहकार्य विस्तार लगायतका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।

उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भोली स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। यस भ्रमणलाई नेपाल–भियतनाम सम्बन्धलाई अझ सुदृढ बनाउने, दुवै मुलुकबीच कूटनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिन सक्षम हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily