काठमाडौं । यमनको राजधानी सानामा इजरायलले हवाई आक्रमण गरेको छ । हुथी लडाकुहरुले इजरायलतर्फ प्रक्षेपण गरेको मिसाइलको जवाफस्वरूप इजरायली सेनाले हवाई कारबाही गरेको दाबी गरेको छ ।
हुथी स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैजसो सर्वसाधारण रहेको र केहीको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । आक्रमणका कारण सानामा व्यापक क्षति पुगेको, आवासीय क्षेत्रसँगै मुलुकका केही आधारभूत संरचनाहरु ध्वस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आक्रमणका मुख्य लक्ष्य
इजरायली सेनाले राष्ट्रपति भवन रहेको सैन्य परिसर, दुईवटा विद्युत् उत्पादन गृह (पावर प्लान्ट) र इन्धन भण्डारण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायली सेनाको विज्ञप्तीमा भनिएको छ, “हुथी विद्रोहीहरूले बारम्बार इजरायल र यसको नागरिकलाई लक्षित गर्दै आक्रमण गर्दै आएका छन् । यसलाई नियन्त्रणमा राख्न र क्षमतामा कमजोर बनाउन यो कारबाही आवश्यक भएको हो ।”
एक वर्षदेखि प्रत्यक्ष द्वन्द्व
यमनस्थित हुथी लडाकु र इजरायलबीचको प्रत्यक्ष आक्रमण र प्रतिहमला करिब एक वर्षभन्दा बढी समयदेखि जारी रहेको बताइन्छ । सानामा भएको पछिल्लो आक्रमणलाई त्यसै शृंखलाको निरन्तरता मानिएको छ । समाचार संस्था रोयटर्सका अनुसार यो द्वन्द्व गाजामा भइरहेको इजरायली आक्रमणसँगै फैलिएको प्रभाव हो । गाजामा जारी युद्धका कारण क्षेत्रीय असन्तुलन बढ्दै गएको र त्यसको असर यमनसम्म पुगेको विज्ञहरुले बताएका छन् ।
मानवीय संकट थप गहिरिने चेतावनी
संयुक्त राष्ट्रसंघका मानवअधिकार निकायले इजरायलको यो आक्रमणपछि यमनमा विद्यमान मानवीय संकट थप गहिरिने चेतावनी दिएको छ । यमन पहिले नै दशक लामो गृहयुद्ध, खाद्यान्न अभाव र स्वास्थ्य संकटले जर्जर बनेको मुलुक हो । यस्तो अवस्थामा निरन्तर विदेशी आक्रमणले नागरिक जीवन अझै जोखिममा पारेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ ।
सानामा भएको पछिल्लो हवाई आक्रमणले मध्यपूर्वमा जारी अस्थिरता र द्वन्द्वलाई फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा चर्चाको विषय बनाएको छ । इजरायल र हुथी विद्रोहीबीचको यो प्रत्यक्ष द्वन्द्वले केवल दुई पक्ष मात्र नभई सम्पूर्ण क्षेत्रीय सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरुको भनाइ छ ।
प्रतिक्रिया