१६ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ।
शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि चीन पुगेका हुन्। भ्रमणकै क्रममा उनले शनिबार बिहान लाओसका राष्ट्रपति सिसौलिथसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा नेपाल–लाओसबीचको आपसी हितका विषयमा छलफल हुनुका साथै पारस्परिक सहकार्यलाई अझ मजबुत पार्नेबारे कुराकानी भएको छ।
दुवै मुलुकका उच्चस्तरीय नेताहरूबीच भएको यस भेटलाई दुवै देशका कूटनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा लिइएको छ। नेपाल र लाओसबीच व्यापार, पर्यटन, संस्कृति र शैक्षिक आदान–प्रदानलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि व्यापक छलफल भएको बताइएको छ।
प्रधानमन्त्री ओलीले शनिबारै शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। चीनको भ्रमणका क्रममा उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग समेत द्विपक्षीय भेटवार्ता गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विशेषज्ञहरूको मूल्याङ्कन अनुसार, प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालका लागि कूटनीतिक तथा आर्थिक अवसरहरू सिर्जना गर्ने दृष्टिले महत्वपूर्ण छ। चीनसँगको सम्बन्ध विस्तारसँगै, अन्य सहभागी मुलुकहरूसँग नेपालले नयाँ प्रकारका साझेदारीका सम्भावनामा जोड दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया