+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा खुकुलो

काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा खुकुलो

4KNationalDaily
२०८२ भाद्र २७, शुक्रबार ०८:०० बजे

काठमाडौं – नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसो लागू गर्दै आएको कर्फ्यू आजदेखि हटाएको छ। सेनाले जारी गरेको नयाँ आदेशअनुसार अब बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यू लागू हुनेछ।

दिउँसो भने कर्फ्यू नलाग्ने भए पनि सेनाले निषेधाज्ञा भने खुकुलो बनाएको छ। जारी सूचना अनुसार आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै निषेधाज्ञा रहनेछ। बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएकाले जनजीवन अघिल्ला दिनको तुलनामा सामान्य देखिएको छ।

सडकमा सवारीसाधनको संख्या बढेको र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको पाइएको छ। सुरक्षाकर्मीहरूले भने दिउँसोको समयमा पनि निगरानी कायम राख्ने जनाइएको छ।

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको हो। त्यसयता सेनाले सुरुमा देशभर कर्फ्यू आदेश जारी गरेको थियो। हाल आदेशलाई खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ भने अन्य केही जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको छ।

विशेषज्ञहरूले भने, निषेधाज्ञा लागू गर्नुको उद्देश्य भिडभाड रोक्नु हो भने कर्फ्यू भने आवतजावत नै बन्द गर्ने कठोर आदेश हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily