काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भने , ‘सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।’ प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले अघि सारेको प्रस्तावबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको थियो । नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए ।
नेता नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायत विषयलाई ध्यान दिंदै अगाडि बढ्ने र यसअघिका निर्णय भने यथावत् रहने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियानुसार नभएको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए ।
बाँकी कार्यसूचीमाथि छलफल गर्न यही कात्तिक ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्नेछ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निश्चित भएको कार्यसूचीबारे आगामी बुधबार हुने अर्काे बैठकदेखि छलफल प्रारम्भ हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया