काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले अब टीम परिवर्तन गर्नुपर्ने समय अाएकाे दावी गरे । ‘अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैनन् ।’ उनले भने ‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं ।
अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’ यद्धपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । पौडेलले भने,‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुन्छ । तर, अहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन । आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’
साक्षात्कारमा बोल्दै उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । उनले भने,‘सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ रु मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरु कायम गरेर देखाउन सकिन्छ ।’ उनले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको पनि जिकिर गरे ।
उनले भने,‘अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने र ईन्टु लगाउने बेला भएको छैन् । सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् । तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समिक्षा गर्छौं । यसको मतलव यो होईन की, हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब विस्तारै अघि बढ्छन् ।’
प्रतिक्रिया