+
Search

ताजा अपडेट +

पपुलर +

चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले जित्याे उपाधि

4KNationalDaily
२०७५ कार्तिक २०, मंगलवार १५:२२ बजे

पोखरा– पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । मध्यक्रमका ब्याट्सम्यान रवि इन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो। चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे।

रासिद खानबाट रनआउट हुनुअघि पारसले ३७ बलमा ९ चौका प्रहार गरे। अनिलकुमार साहको ब्याटिङमा आएको बल रासिदको खुट्टामा लागेर विकेट ढलेपछि पारस आउट हुन पुगेका थिए।

पारसले अनिलसँग दोस्रो विकेटका लागि ११ ओभर खेलेर ७६ रनको साझेदारी गरेका थिए। अनिल ३७ रन जोडेर आउट भए। मोहमद नावेदको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि अर्का ओपनर हरिशंकर साहलाई पोखराका ललितनारायण राजवंशीले ८ रनमा आउट गरेका थिए। सनी पटेलले २१ बलमा ४३ रन जोडेपछि चितवनको इनिङले रफ्तार लिएको थियो। कृष्ण कार्की बलको बलमा आउट हुनुअघि उनले ३ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेखले ११ बलमा १ छक्काको मद्दतमा नटआउट १४ रन जोडे।

बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ विकेट लिए। उनले अन्तिम ओभरमा सनी पटेल र करण केसीलाई आउट गरेका थिए। ललितनारायण राजवंशी र मोहमद नावेदले १-१ विकेट लिए। दुवैले ४-४ ओभरमा १८-१८ रन खर्चिए।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल खेल्न बाँकी छदा पूरा गरेको हो। पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । ९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily