+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेको समग्र विकासको ‘मास्टर प्लान’को चरणमा छौं : अध्यक्ष गुरुङ

4KNationalDaily
२०७५ चैत्र १४, बिहीबार १९:२६ बजे

गाेरखा- सडक सञ्जाल कम भएको यस गाउँपालिकाको पहिलो प्राथमिकता सडक विस्तार गर्ने रहेको छ । गाउँपालिकामा सात वडा रहेका छन्, ती मध्ये तीन वटा वडामा सडक नपुगेको अवस्था छ । धार्चेमा सडक सञ्जालको विस्तार गर्न करिडोरको रुपरेखा कोरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए ।

उनले पहिलो चरणमा वडा कार्यालय र व्यापारिक केन्द्रमा सडक विस्तार गर्ने बताउँछन् ।

‘हामीसँग सिमित बजेट छ । पहिला वडा कार्यालयहरु र मुख्य व्यापारिक केन्द्रहरुमा सडक सञ्जाल जोड्छौँ । त्यसपछि क्रमैसँग अन्य ठाउँमा सडक विस्तार गर्छौँ, अध्यक्ष गुरुङले भने, ‘अधिल्लो वर्ष वडा नम्बर ६ को काशीगाउँमा मोटरबाटो जोड्ने काम सकिएको छ ।’

उनले मोटरबाटो नपुगेका वडाहरु १, २ र ३ वडामा सडक विस्तारका लागि बजेट विनियोजन भएको जानकारी दिए । तर, कम बजेटको कारण देखाउँदै उनले आफ्नो कार्यकालमा सबै वडाभित्र मोटरबाटोको पहुँच पुग्छ भन्नेमा ठोकुवा गर्न नसक्ने बताए । ‘हाम्रै कार्यकालमा सबै क्षेत्रमा सडक पुग्छ भन्ने ठोकुवा गर्न सक्दिन । किनभने बजेट सिमित छ । सिमित बजेट नपुग्न सक्छ’, उनले भने ।

त्यस्तै, गाउँपालिकाको कतिपय क्षेत्रमा केन्द्रीय विद्युत प्रशारण लाइन नपुग्दा स्थानीयबासी टुकी र शोलारकै भरमा बस्न बाध्य भएका छन् । यो वर्ष धार्चेको माथिल्लो भेगमा केन्द्रीय विद्युत् प्रशारण लाइन पु¥याउन टेण्डर परेको बताउँदै गुरुङले केही वडाहरुमा भने लघु विद्युतबाट विजुली निकासा गरेको बताए ।

उनले विदेशमा रहेका धार्चे गापाका व्यक्तिहरुको लगानीमा माछीखोलाबाट रेमिट हाइड्रो पावरले पाँच मेगावाट विद्युत उत्पादन गर्ने काम शुरु गरेको जानकारी गराए । गाउँपालिकालाई लोडसेडिङ् मुक्त बनाउन लागी परेको बताउँदै उनले भने, ‘हामीले लगानी सम्मेलन गर्ने तयारी गरेका छौँ । आउने वैशाखमा लगानी मैत्री वातावरण बनाएर बाहिरी लगानी भित्र्याउने योजना छ ।’

उनले आफ्नो चुनावी अभियानमा प्रतिवद्धता गरे अनुसार तीन वटा वडामा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत एक हजार धारा वितरण गरेको बताए । मनास्लु हिमालको पदयात्रा गर्ने बाटो धार्चे पर्ने भएकाले पर्यटकलाई सफा र स्वच्छ पानी खुवाउने उद्देश्यसहित ‘धार्चे मिनिरल वाटर’को लागि ल्याब परीक्षण गर्न काठमाडौँ पठाएको जानकारी गराए ।

उनले स्वास्थ्य क्षेत्रमा वर्षौदेखि बाहिर नखुलेका आङ खस्ने पीडित महिलाहरुका लागि गाइनोलोजी शिविर र मोती विन्दु भएका नागरिकका लागि आँखा शिविर सञ्चालन गरेको बताए । उनका अनुसार एक संस्थाले हिउँदमा एम्बुलेन्स सञ्चालन गर्न एम्बुलेन्स उपलब्ध गराएको छ भने वर्षामा भने गाडी नचल्ने हुनाले हेलिकप्टर उद्वारको रुपमा राखिने छ ।

गुरुङले गुणस्तरीय शिक्षाको लागि बृहत् स्कूलको अवधारणा अगाडि सारेको बताए । केही खस्किएका विद्यालयलाई गाभि सकेको छ । उच्च मावि नभएको यस गाउँपालिकामा सात वटा माध्यमिक विद्यालयमा दरबन्दी नै नभएको बताउँछन्, गुरुङ । ‘शिक्षामा सबै बालबालिकालाई समेटिएको छ । अब हामीले प्रारम्भिक बाल विकास (इसिडि) कक्षालाई मन्टेश्वरीको रुपमा विकास गर्छौँ,’ उनले भने ।

वर्षौदेखि नागरिकता नपाएका र पाएकाको नाम नमिलेको नागरिकता वितरण तथा सच्याउने काम भएको बताउँदै उनले घरघरमै नागरिकता शिविर सञ्चालन गरी घर/घरमा नागरिकता उपलब्ध गराएको बताए ।

संचार क्षेत्रको पहुँचमा धार्चेको दयनीय अवस्था छ । संचारको अभाव भएकाले धार्चे गाउँपालिकामा अझै कटुवाल प्रथा कायमै राखिएको अध्यक्ष गुरुङले बताए । उनले भने, ‘गत वर्ष ७ वटै वडामा इन्टरनेट जोडेका छौँ । नेपाल टेलिकमका टावर अझै तीन वटा वडामा टिप्दैनन् । दुई वटा टावरको निर्माणको काम सकिएपछि सबै वडामा फोन टिप्छ ।’

भूकम्पको इपि सेन्टर पनि हो धार्चे । धेरै संरचामा क्षति भइसकेको छ । भूकम्प पीडितका समस्याहरु क्रमिकरुपले सम्बोधन भइरहेको छ । एउटा वडामा ३० देखि ३६ घर भूकम्पको किस्ता लिएर घर बनाएको अवस्था छ । फेरि, वर्षामा गएको पहिरोले खानीगाउँमा समस्या बल्झएको उनले बताए । भूकम्पको केन्द्र रहेको भिरकोटलाई त्यही रुपमा संरक्षण र हुल्चेतमा हाइ अल्टिच्यूट स्टेडियम निर्माण गर्ने योजना छ ।

उनले धार्चेको भाषा, सँस्कृतिको संरक्षण र पर्यटन विकासको लागि बजेट विनियोजन गरेको बताए । रुन्चेत, हुल्चुक भई कालोपोखरी हुँदै गणेश कुण्ड तथा गणेश हिमाल, मनास्लु हिमाल आरोहणको रुटको पर्यटन पदमार्ग निर्माण गरिने गापाको योजना छ । होम स्टेका लागि ४० जनाको दर्ता भइसकेको छ ।

करप्रणालीको विषयमा बाहिर हल्ला फैलिए जति करको दायरा नबढाएको बताउँछन् । ‘हामीले जनातालाई करप्रणलीको बारेमा फाइदा बेफाइदाका बारेमा अभिमुखीकरण गर्ने छौँ । करको प्रतिनिधि राखेर करको दायरा तयार पार्छौ । त्यसपछि कार्यान्वयन गर्छौँ’, उनले प्रष्ट पारे ।

जीडीपीमा परिवर्तन ल्याउने कसरत

स्थानीय जनप्रतिनिधि आएपछि जनताले सरल र सहज रुपमा सेवा पाएको गुरुङको दावा छ । तर कर्मचारीको अभावले जुनरुपमा हुनुपर्ने हो, सोही अनुरुप हुन नसेको गुनासो छ । ‘केन्द्रबाट कर्मचारी छनोट गरियो भनेर सुन्नमा आएको छ । अझैसम्म कर्मचारी पोष्टिङ भाएको छैन’, उनले भने, ‘दुर्गम ठाउँमा दक्ष कर्मचारी जाँदैनन् । सबैले सुगम ठाउँ रोज्ने भए । हामीले चाहे अनुसार विकास गर्न गाह्रो छ ।’

उनले आफू धार्चेको समग्र विकासका लागि ‘मास्टर प्लान’को चरणमा रहेको बताए । उनी भन्छन्, ‘म धार्चेको समग्र विकासको मास्टर प्लानको चरणमा छु । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरेर मात्रै विकासका कामलाई अगाडि सार्ने भनेर विभिन्न दातृ निकाय र संघसंस्थासँगको गृहकार्यमा मेरो समयबढी केन्द्रित भएको छ ।’

आफ्नो कार्यकालभित्र धार्चेमा विकासले गति नलिए अर्को निर्वाचनमा उमेद्वारी नदिने उनको भनाई छ । ‘मेरो कार्यकालसम्मको अन्तिम समयमा अहिलेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अवस्था र जीडीपीको प्रगतिमा कति भिन्नता ल्याउन सकियो, त्यसको तुलना गर्छौँ । सकारात्मक फरक ल्याउन सकियो भने हामी सफल हुन्छौँ । होइन भने अर्को चुनाव लड्न म दावा गर्दिन’, उनले भने, ‘त्यसैले हामी जीविको पार्जनको बाटोमा लागी परेका छौँ ।’

केन्द्र र स्थानीय निकायबीच समन्वयको अभाव

संचारको अभावले केन्द्रीय सरकारसँग गाउँपालिकाको पहुँचमा कमी भएको उनी बताउँँछन् । उनी भन्छन्, ‘केन्द्रीय सरकारसँग हाम्रो पहुँच कम छ । दुर्गम गाउँपालिका भएकाले अवसरबाट विमुख भइरकेका छौँ ।’

उनले स्थानीय, प्रदेश र केन्द्रको समन्वयको अभाव महशुस गरेको बताए । ‘केन्द्रले आफूखुशी निर्णय गर्ने चाहेको बेला लाड्ने/खारेज गर्ने गर्छ । आफूखुसी बजेट निर्धारण गर्छ । तल्लो स्थानीय निकायलाई केही जानकारी हुँदैन । समन्वयको अभाव महशुस गरेका छौँ, हामीले ।’

चालू आर्थिक वर्षका लागि १४ करोड वजेट विनियोजन भएको छ । पोहोरसाल गाउँपालिकाको भवन निर्माणका लागि जग्गा खरिद गर्न छुट्याइएको ६० लाख फ्रिज भएको थियो, भने यसपाली बजेट प्रिज नहुँने बताइएको छ । जनताको मागहरु असिमित र जनसंख्या कम भएकाले केन्द्रबाट बजेट घटेर आउँने उनले बताए ।

वि.स.२०७३ सालमा संघीयताको कार्यान्वयन सँगै यस गाउँपालिकामा स्थानीय तहको रुपमा साविकका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गाविसलाई ७ वटा वडाहरू विभाजन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily