काठमाण्डौं- सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न कल सेन्टर संचालनमा ल्याएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीको गुनासो सुनुवाई गर्न सोमबार सोही मन्त्रालयमै स्थापना गरिएको कल सेन्टरको शुभारम्भ गरे ।
वैदेशिक रोजगार, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रमसँग सम्बन्धित सबै विषयको गुनासो सुन्ने र तत्काल समाधान गर्ने मुख्य उद्देश्यका साथ सो कल सेन्टरको स्थापना गरिएको पनि मन्त्री विष्टले जानकारी दिए ।
हालका लागि बिहान ७ बजेबाट बेलुका ९ बजेसम्म सेवा दिने व्यवस्था मिलाइएको सो कल सेन्टर आवश्यक्ता अनुसार २४ औं घण्टा संचालन गर्ने व्यवस्था पनि गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्री विष्टले कल सेन्टरले सेवाग्राहीको गुनासो तत्काल सुनुवाई गरी सम्बन्धित निकायमार्फत् समाधान गराउने कामलाई चुस्त बनाउने विश्वास पनि व्यक्त गरे । वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका विविध समस्या आएपछि ती समस्या समाधान गर्न सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कल सेन्टरको व्यवस्था गरेको हो ।
कल सेन्टरमा गुनासो टिपाउन ११४१ वा १६६००१५०००५ नम्बर कल गर्न सकिनेछ । विदेशबाट भए इमेल, फेसबुक, इमो, भाईबर, आदिजस्ता नेटवर्कमार्फत् निःशुल्क रुपमा +९७७१५९७०००८ नम्बरमा कल गर्ने व्यवस्था गरिएको पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया