गोरखा- गर्मी एवं सुख्खा याम सुरु भएसँगै जिल्ला सदरमुकाममा खानेपानीको समस्या सुरु भएको छ । वर्षेनी खानेपानीको समस्या भोग्दै आएका गोरखा बजारबासी पुनः आजित भएका हुन् ।
‘धारामा पानी नआएको एक हप्ता बढि भयो ट्वाइलेट जान पनि जारको पानी किन्न परेको छ’ हरमटारीकी सुनिता श्रेष्ठले भनिन् ‘वर्षेनी यहाँको समस्या यस्तै हो जब चाहिने बेला भयो अनि पानी आउँदैन ।’
जिल्ला सरमुकाममा पानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरीका खानेपानी आयोजनाको लापरवाहीका कारण समस्या भएको उपभोक्ताहरुको आरोप छ । चैत महिना देखि नियमित रुपमा पानी नआएको उनीले गुनासो गरेका छन । ‘पहिले जस्तो पानी नआएको त धेरै दिन भइसक्यो’ गोनपा–८ शिवमन्दिर टोलकी सन्तमायाँ गुरुङले भनिन् ‘धारामा जाउँ धारामा भिड छ ।
घरमा पानी आउँदैन सारहै गारो भएको छ ।’ साना सहरीको पानी अनियमित भएपछि सदरमुकामका परम्परागत धारामा सर्वसाधरणको भिड लागेको छ ।
यता पृथ्वीनारायण साना सहरी खानेपानी आयोजनाले भने विद्युत प्राधिकरणका कारण पानी उपलब्ध गराउन समस्या भएको दाबी गरेको छ । ‘विद्युत अनियमित हुँदा यो सबै समस्या भएको हो’ उक्त आयोजनाका प्रवन्धक आशकाजी श्रेष्ठले भने ‘यसमा हाम्रो कुनै कमजोरी छैन ।’ केही दिन यता जिल्लामा विद्युत सेवा अनियमित भएका कारण उपभोक्तालाई पानी वितरण गर्न समस्या भएको उनले बताए ।
आयोजनाले सोलारको प्रयोग गरी पानी तान्ने प्रयास गरेपनि प्रयाप्त नभएको श्रेष्ठको भनाई छ । ‘हाम्रो १ नम्बर ट्याङ्की भएको ठाउँ नै खोचमा छ राम्रोसँग घाम लाग्दैन’ उनले भने ‘फेरी सोलारले विजुलीले जति पानी तान्न पनि सक्दो रहेनछ ।’
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले प्रशारण लाइन सुद्रिढिकरणको काम गरिरहेका कारण बैशाख १५ गते सम्म जिल्लाको विद्युत सेवा अनियमित हुने बताएको छ । सोको मार खानेपानी क्षेत्रमा परेको हो ।
मंगलबार आएको हावाहुरीले पानीको मुहान आसपासका विद्युतका पोल ढलाएका कारण झनै समस्या भएको छ । ‘विहान बेलुका भएपनि पानी तान्न पाइन्थ्यो’ उनले भने ‘मगंलबार आएको हावाहुरीले पानी तान्ने ठाउँका सबै पोल भाँचेर झनै समस्या बनाइदियो ।’
लिफ्टिङ प्रविधिमा आधारित उक्त आयोजनाले जिल्ला सदरमुकाममा दुईवटा संकलन केन्द्र निर्माण गरी पानी वितरण गर्दै आएको छ । ‘४ नम्बर ट्याङ्की हरमटारी क्षेत्रमा हप्तामा ४ दिन र ५ नम्बर ट्याङ्कीबाट बसपार्क क्षेत्रमा ३ दिन पानी वितरण गर्दै आएका थियौं’ उनले भने ‘त्यसको लागि हामीलाई चौविसै घण्टा पानी तान्नु पर्छ, विजुली नै नभएपछि अनि कसरी पानी तान्ने ?’ जिल्ला सदरमुकाममा दैनिक ५ लाख लिटर पानीको माग छ ।
सहज रुपमा पानी आपूर्तीका लागि भन्दै दरौंदी लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु गरिएको छ । तर उक्त आयोजना निर्माण सम्पन्न भएको छैन । दरौंदी लिफ्टिङ बनेपछि अहिलेको समस्या समाधान हुने धेरै विश्वास छ ।
नरेन्द्र ढकाल/गोरखासमाचारबाट
प्रतिक्रिया