+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्पका चार वर्ष – गोरखामा ४९ हजार घरको पुनःनिर्माण

4KNationalDaily
२०७६ बैशाख १२, बिहीबार २०:०६ बजे

गोरखा- २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

भूकम्पपछि निजी आवास निर्माणका लागि गोरखामा कूल ७१ हजार पाँच जना लाभग्राहीको सूचीमा परेका थिए । एकाइका प्रमुख आचार्यका अनुसार जिल्लाका ११ वटा स्थानीय तहमध्ये पुनःनिर्माणमा भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलीकोट गाउँपालिका सबैभन्दा अघि रहेको छ ।

‘अहिलेसम्मको अवस्था हेर्दा बारपाक सुलीकोट गाउँपालिकामा कूल लाभग्राहीको सूचीमा रहेकामध्ये ८५ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएको छ, उनले भने, ‘त्यो जिल्लाका अन्य गाउँपालिकाको तुलनामा सबैभन्दा बढी हो ।’

बारपाक सुलीकोट गाउँपालिकामा सात हजार २०० लाभग्राहीको सूचीमा परेकामा छ हजार १५० को घर निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै लाभग्राहीमा परेकामध्ये १८० को नाम प्रवलीकरणको सूचीमा परेको थियो ।

जसमध्ये ३६ लाभग्राहीले मात्र घर प्रवलीकरणको काम सम्पन्न गरेका छन् । प्रवलीकरणको सूचीमा परेका लाभग्राहीले पूर्ण क्षतिमा पर्नुपर्ने भन्दै गुनासो दर्ता गरेका प्रवलीकरणमा परेकाको घर पुनःनिर्माण छिटो हुन नसकेको प्रमुख आचार्यको भनाइ छ ।

गोरखाका स्थानीय तहमध्ये निजी आवास पुनःनिर्माणमा गण्डकी गाउँपालिका सबैभन्दा पछाडि रहेको छ ।

गण्डकी गाउँपालिकामा अहिलेसम्म लाभग्राहीको सूचीमा परेकामध्ये ५२ दशमलव ५५ प्रतिशतमात्र पुनःनिर्माण सम्पन्न भएको छ।

‘गण्डकी गाउँपालिकामा कूल पाँच हजार ६१९ जना लाभग्राही सूचीमा परेको थियो । तीमध्ये दुई हजार ९५३ निजी आवास मात्र पुनःनिर्माण सम्पन्न भएको छ’ उनले भने ‘लाभग्राहीको सूचीमा परेकामध्ये पनि गण्डकी गाउँपालिकामा ४१३ को नाम प्रवलीकरणको सूचीमा रहेका छन् ।’

गोरखा जिल्लामा बारपाक सुलीकोट गाउँपालिकापछि अजिरकोट गाउँपालिका पुनःनिर्माणमा दोस्रो स्थानमा रहेको छ । अजिरकोटमा हालसम्म ८१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए ।

‘कूल चार हजार १२६ लाभग्राहीको सूची परेको अजिरकोट गाउँपालिकामा तीन हजार ३७५ ले घर निर्माण सम्पन्न गरिसकेका छन्’ उनले भने ‘अजिरकोटमा लाभग्राहीको सूचीमा परेकामध्ये तीन हजार ९७ ले पहिलो किस्ता र तीन हजार ८०२ ले दोस्रो किस्ताको रकम लिइसकेको छ ।’

उनका अनुसार निजी आवास पुनःनिर्माणमा जिल्लामा आरुघाट गाउँपालिका तेस्रो स्थानमा रहेको छ । आरुघाट गाउँपालिकमा अहिलेसम्ममा कूल छ हजार ९२४ लाभग्राहीको सूचीमा परेकामध्ये पाँच हजार २७५ अर्थात् ७६ दशमलव १८ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् ।

यता जिल्लाको भीमसेन थापा गाउँपालिकामा भने ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको छ । ‘भीमसेन थापा गाउँपालिकामा छ हजार ६६७ लाभग्राहीमध्ये चार हजार ९९२ को घर निर्माण भइसकेको छ’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily