गोरखा- बेरोजगारलाई रोजगार दिन सरकारले जिल्लाका सबै स्थानीय तहमा बजेट पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगारलाई रोजगार दिन सरकारले गाेरखाका सबै स्थानिय तहलार्इ ३ करोड २४ लाख रकम बिनियोजन गरेकाे हाे ।
चालु वर्षको बजेट मार्फत रोजगार दिने घोषणा गरेको सरकारले यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागेको हो । बेरोजगारलाई रोजगारी दिनका लागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जिल्लाको सबै स्थानीय तहमा गरी कुल ३ करोड २४ लाख रुपैया सशर्त अनुदानको रुपमा पठाएको छ ।
सवैभन्दा बढि ४९ लाख गोरखा नगरपालिकामा आएको छ भने कम १८ लाख रकम चुमनुव्री गाउँपालिकामा आएको छ । बेरोजगारी सूचीमा दर्ता भएकालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय यस अघि नै गरेको थियो । यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकिएकाले एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाइएको बताइएको छ ।
नेपालको संविधानले नागरिकको मौलिक हकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारासाथ सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गरेको हो ।
प्रतिक्रिया