विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमानदारीका साथ कार्यान्वयन गरिने बताएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गरे।
पार्टी एकता बेला भएका सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन हुने भन्दै प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा अालोपालोको सहमतिअनुसार पाँच वर्षमध्ये आधा समय आफूले सरकारले नेतृत्व गर्ने बताएपछि राजीति गर्मिएको छ ।
प्रचण्डको अभिव्यक्तिबारे दिल्लीमै रहेका बेला नेपाली पत्रकारसँग प्रधानमन्त्री केपी ओलीले सहमति पूरानै भएको भन्दै परिस्थितिलाई उछाल्न नेपालमा हल्ला भएको टिप्पणी गरेका थिए ।
‘एक वर्षपछि म प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमतिमा निर्णय गर्ने विषय हो’, प्रचण्डले भने, ‘पार्टी एकताका बेला ऐतिहासिक रुपमा जे सहमति गरेका छौं । त्यसलाई हामी इमान्दारिता साथ कार्यान्वयन गर्दै लान्छौं।’
प्रचण्डले टेलिभिजन अन्तर्वार्तामा पार्टी एकताका बेला भएको सहमतिको स्मरण मात्र गरेको र त्यो नयाँ विषय नभएको भन्दै उनले होहल्ला गर्नुपर्ने केही नरहेको बताए ।
उनको जवाफ ओलीतर्फ लक्षित थियो । ‘मैले हाम्रा बीचमा विगतमा भएका सहमतिको स्मरण मात्र गरेको हुँ’, उनले भने, ‘बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषयमा बोलेकै छैन ।’ प्रधानमन्त्री ओलीले समेत त्यस विषयमा राम्रोसँग कुरा बुझेको उनको दाबी थियो ।
प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेबारे आफूहरुबीच विगतमा भएको सहमतिलाई लिएर अनावश्यक नखेल्न पत्रकारलाई चेतावनी दिए । प्रचण्डले त्यसबारे अनावश्यक प्रचार र हल्लाका पछि नलागी विगतमा निर्णयमा अडिग रहन पार्टी पंक्ति र शुभचिन्तकलाई आग्रह गरे ।
‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यवहारिक सहमति गरेका छौं, त्यही लाइनमा अघि बढ्दै जान्छौं,’ उनले भने, ‘पार्टीका सम्पूर्ण साथीहरु, समर्थक र जनसमुदायलाई आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई अनावश्यक रुपमा प्रचारमा नलैजान र अनावश्यक ‘पोलराइजेशन’ नगर्न आग्रह गर्छु ।’ उनले विगतमा भएको सहमतिबारे बोल्दा अतिरञ्जित रुपमा लिनुपर्ने कुनै कारण नभएको जिकिर गरे ।
फरक प्रसंगमा प्रचण्डले भारतीय पूर्वसचिव एस जयशंकर विदेशमन्त्री हुँदैमा दुई देशीय सम्बन्धमा तात्विक अन्तर नपर्ने बताए । नाकाबन्दीको अवस्थाबाट भारतले शिक्षा लिइसकेको भन्दै उनले नेपाल र भारत दुवै मुलुक त्यस्तो अवस्था नआओस् भन्नेतर्फ सचेत रहेको उनले जनाए ।
प्रतिक्रिया