पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय ‘रवीन्द्र अधिकारी आँखामा हाले पनि नबिझाउने लाल गेडी जस्ता थिए’ भन्दै प्रशंशा गरेका छन्।
शनिबार पोखरामा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय अधिकारीलाई यसरी सम्झिएका हुन्।
पोखरा सभागृहमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीको बारेमा त्यत्ति भनेर मात्रै रोकिएनन्। उनले भने, ‘मैले रवीन्द्रलाई २०३९ सालमा चिनेदेखि जतिपल्ट भेटें नमुस्कुराएको चेहरा कहिल्यै देखिन। जस्तै समस्या आए पनि हँसिलो मुहार उनको पहिचान थियो।’
ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो।
रविन्द्रबारे प्रधानमन्त्रीले भावुक हुँदै भने, ‘रवीन्द्रले जीउँदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन्। मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन्।’
चिनेको ३५ वर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएपछि रविन्द्रसँग झन् धेरै सामिप्यता बढेको प्रधानमन्त्रीले स्मरण गरे। ‘जतिसुकै संकट पर्दा पनि प्रसन्न चित्तको मान्छे’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो।’
प्रतिक्रिया