+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन : सांसद प्रधान

4KNationalDaily
२०७६ जेष्ठ ३०, बिहीबार १३:०४ बजे

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठीसम्बन्धी विधेयक संविधानविपरीत भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठीसम्बन्धी विधेयक ल्याएको दाबी गरे।

गुठीसम्बन्धी विधेयक लगायत सरकारले संविधानविपरीत ल्याएका विधेयकविरुद्ध काठमाडौंमा दिनहुँ विरोध प्रदर्शन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए।

उनले भने, ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दैछ। बादल गर्जिंदै छ दिनका दिन आन्दोलनको। विधेयक तुरुन्तै फिर्ता गरी सरोकारवालाहरुसँग विधेयक संशोधन गरिएन भने आन्दोलन चर्किन्छ र त्यो आन्दोलनले कहाँ पुर्‍याउँछ भनेर भन्न सकिन्न।’

काठमाडौं उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराए।

उनले भने, ‘काठमाडौंका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन। हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन। संविधानप्रति नै जनताले अनास्था गर्लान् भन्ने चिन्ता हो। काठमाडौंका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो।’

गुठीसम्बन्धी विधेयकमार्फत सरकारले ऐतिहासिक, पुरातात्विक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप उनले लगाए।

सभामुख कृष्णबहादुर महराले बिहीबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्त नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उनले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily