काठमाडाैं- गत २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक चेतनाथ शर्माले भने, ‘कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुन्छ ।
नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।
यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन सकिन्छ ।
परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np,
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np,
परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np
नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np
र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np
बाट नतिजा हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।
प्रतिक्रिया