+
Search

ताजा अपडेट +

पपुलर +

ट्रायलमा ‘सेटिङ’ रोकिएपछि नक्कली परीक्षार्थी

4KNationalDaily
२०७६ असार १३, शुक्रबार ०९:०८ बजे

काठमाडौं– लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ ।

मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिरोहले एउटाको ट्रायलमा अर्काेलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ ।

कार्यालयकी प्रमुख कमला थापा खत्रीले आर्थिक चलखेलकै आधारमा ट्रायलमा नक्कली परीक्षार्थी खटाउने गरेको भेटिएको बताइन् । अन्य यायायात कार्यालयले पनि नक्कली परीक्षार्थी पक्राउ गर्दै आएका छन् ।

ट्रायलका क्रममा अनिवार्य रूपमा नागरिकता लैजानुपर्छ । तर, नागरिकताको फोटो पुरानो हुने भएकाले ट्रायलमा जानेको हो–होइन छुट्याउन गाह्रो हुने र यसैको फाइदा उठाएर एउटाको नाममा अर्कोले ट्रायल दिने गरेको यातायातका कर्मचारी बताउँछन् ।

अरूको नाममा परीक्षा दिने तथा दिन लगाउने दुवै पक्षलाई कारबाही गरिएको थापाले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily