काठमाडाैं- नेपाली कांग्रेस वि.सं. २००७ देखि करिब सात दशक नेपाली राजनीतिको मुख्य केन्द्रमा रहेको देखिन्छ । पछिल्ला केहि वर्षहरुलाई नियालेर हेर्दा कांग्रेस निकै कमजोर देखिएको छ ।
पछिल्लो चुनावसँगै कांग्रेस सरकारमा छैन् । सरकारमा नभएको कांग्रेस प्रतिपक्ष पनि बन्न सकेको छैन । चुनावी नतिजासँगै प्रतिपक्ष बनेको कांग्रेस दुईतिहाई सरकारको अगाडि नाम मात्रैको छ । संसदमा कांग्रेस कमजोर देखिन्छ ।
बेलाबेला तराई केन्द्रित दलहरुले बरु विभिन्न मागहरु राखेर संसदमा हंगामा पिट्छन् तर कांग्रेस सरकारको कुनैपनि कार्यक्रममा विमति जनाउन सक्ने अवस्थामा छैन् । यो कांग्रेसको ऐतिहासिक कमजोर अवस्था भएको ठहर्छ ।
अभियान हुँदै गर्दा तल्लो तहबाट धेरै प्रश्न आएको छ । बनेको नयाँ विधान अनुसारको संरचना किन भएन भन्ने धेरै गुनासो छ । टोल समिति, वडा समिति, पालिका स्तरको समिति पनि किन पूर्ण गराउन सक्नुभएन भन्ने प्रश्न छ ।
हामीले प्रदेश समितिहरु त बनाएकै छैनौं । हामी घर–घर कार्यक्रम लिएर जानेभन्दा पनि तल्लो तहसम्मका संरचनालाई पूर्ण बनाएर त्यसलाई क्रियाशिल बनाउन लाग्नुपर्ने देखिन्छ । यति संरचना पूर्ण भएको भए, केन्द्रले प्रदेश, प्रदेशले जिल्ला, जिल्लाले पालिका स्तर अनि वडा, टोलमा समन्वयन गरेर काम गर्न सक्ने स्थिति हुन्थ्यो ।
साथीहरुले गुटगत समस्यालाई लिएर पनि धेरै गुनासो गर्नुभएको छ । पहिला केन्द्र मिलेर आउन पनि सुझाउनु भएको छ । हामी विधानसम्मत चल्ने हो भने गुटगत समस्या भन्ने त हुँदैनथ्यो तर समस्या विधानसम्मत नचल्ने तौरतरिकाले निम्त्याएको प्रष्ट छ ।
हाम्रा अनेकन कमि कमजोरी भएकै कारण चुनावमा पराजय भोगेको हामीले बुझ्न आवश्यक छ । ठूलो हार नै व्योहुर्नु परेपछि, कमि कमजोरी भएकै कारण व्यहोरेको हो भन्ने थाहा भएपछि सच्याउन लाग्नुको विकल्प छैन् । मतदाता र कांग्रेसबीच बढेको दुरीलाई कसरी हल गर्ने ? भन्ने कुरा हाम्रो मुख्य चुनौति हो । यसलाई हल गरेर जानु पनि पहिलो अनि अनिवार्य शर्त पनि हो ।
अहिलेको अभियानले गाउँका कार्यकर्ता, जनताले कांग्रेस प्रति कस्तो धारणा बनाएका छन् भन्ने कुरा बुझ्ने अवसर भएको भन्ने म ठान्दछु । कांग्रेसको सामान्य मतदाताले पनि पार्टीको भित्रको बेमेलको कारण पार्टी कमजोर भएको भन्ने ठानेका छन् ।
कांग्रेसकमा जुन गुटगत संस्था बनिरहेको छ यसको अन्त्य हुनैपर्छ । कांग्रेसलाई जनताले मन पराएका छन् । त्यो मनपराएका जनतालाई खुसी मनले भोट हाल्ने अवस्था बनाउनु पर्दछ । त्यो भनेको गुटगट तन्त्रको अन्त्यले मात्रै सम्भव हुन्छ ।
जबसम्म हामी विधिसम्मत ढंगले चल्ने सोंच बनाउँदैनौं तब सम्म कांग्रेसलाई उठाउने विषय सम्भव हुँदैन् । मुख्य नेतृत्वबाट पदप्रतिको मोह छोड्न आवश्यक छ । आफ्ना, चिनजानका मान्छेबाट पद ओगट्ने पद्धति रहुन्जेल समस्या हल हुन्छ भनेर नसोंच्दा हुन्छ ।
चुनाव किन हारियो ? जनतासँग कांग्रेसको सम्बन्ध किन टाढा भयो ? मतदाताबीच देखिएको दुरीलाई कसरी हटाउने ? भन्ने कुरा यो जागरण अभियानले सिकाएको छ । तल्लो स्तरबाट धेरै राम्रो सुझाव आएको छ ।
प्रतिक्रिया