+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी र एमालेको पार्टी एकता हुनुनै दुर्भाग्यपूर्ण: डा. भट्टराई

4KNationalDaily
२०७६ असार १७, मंगलवार ०८:३६ बजे

गोरखा- सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

गृह जिल्ला आइपुगेका भट्टराईले गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

उनले विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरेका छन् । ‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन’, उनले भने, ‘एमाले पछाडि फर्कन खोज्ने शक्ति तर माओवादी अगाडि बढ्न खोज्ने । यी दुवै नारिएर काम हुँदैन ।’

सरकारको काम उत्साहजनक नभएको भट्टराईले सरकारको आलोचना पनि गरेका छन । ‘सरकारको कामलाई लिएर सत्तापक्ष नै सन्तुष्ट छैनन्’ भट्टराईले भने ।

केही समयअघि मात्रै आफू नेतृत्वको नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग एकता गराएका भट्टराईले पुराना शक्तिसँग कुनै हालतमा एकता नहुने बताएका छन ।

‘कांग्रेस र तत्कालीन एमाले पुरानै दिशा र प्रणालीमा चलिरहेका पार्टी हुन्, संघीयता, समावेशिता र गणतन्त्र उहाँहरुको एजेण्डा होइन’, भट्टराईले भने, ‘माओवादी जनयुद्ध, मधेश आन्दोलन, जनजाति आन्दोलनको बलमा उहाँहरु तानिएर आउनुभएको हो, दुर्भाग्यवश प्रचण्डको नेतृत्वमा माओवादी एमालेमा मिसिन पुग्यो, अहिले संयोगले नेतृत्व उहाहरुको हातमा पुगेको छ, यसले ठूलो समस्या हुने म देख्छु ।’

कांग्रेस र कम्युनिष्टको बिकल्पको रुपमा समाजवादी पार्टी बनाएको भन्दै उनले ०५२ पछिका अन्य शक्तिहरुसँग ध्र्रवीकरणको प्रयास हुने प्रष्ट पारेका छन ।

विप्लव नेतृत्वको सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको प्रसंग कोट्याउँदै भट्टराईले नक्कली मुठभेडको नाममा सरकारले मान्छे मार्ने दुष्प्रयास गरिरहेको आरोप लगाएका छन । ‘यस्तो गर्नु गलत हो, राजनीतिक ढंगबाटै विप्लव समस्या समाधान गर्नुपर्छ,’ विप्लव समस्याबारे बोल्दै भट्टराईले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily