काठमाडौँ- संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सोमबार संसदीय सुनुवाइको प्रक्रियापछि समितिले सबै राजदूतको नाम अनुमोदन गरेको हो ।
समिति निर्णयअनुसार अस्ट्रेलियाका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित डा. नारदनाथ भारद्वाज, बङ्गलादेशका लागि प्रस्तावित डा. वंशीधर मिश्र र स्पेनका लागि प्रस्तावित दावाफुटी शेर्पाको नाम राजदूतका लागि सर्वसम्मत अनुमोदन गरिएको हो ।
संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चारैजना राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिए। उनले भने, ‘हामीले प्रस्तावित चारै जनाको राजदूतको सुनुवाइ प्रक्रिया सम्पन्न गरेका छौँ । सुनुवाइपछि समितिमा प्रस्तावित नामहरू निणयार्थ पेश हुँदा सर्वसम्मत रूपमा अनुमोदित भएका छन् ।’
समितिले सोमबार दुई चरणमा गरी सुनुवाइ सम्पन्न गरेको हो । सोमबार बिहान बङ्गलादेशका लागि प्रस्तावित डा. वंशीधर मिश्र र दिउँसोको बैठकमा अन्य तीन जनाको सुनुवाइ गरिएको हो ।
समितिले अब अनुमोदनको जानकारी सम्बन्धित निकायलाई पठाउनेछ । समितिबाट अनुमोदन भएको जानकारी पठाइएसँगै नियुक्तिका अन्य प्रक्रिया सुरु हुनेछन् ।
त्यसअघि बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा. मिश्रले द्विपक्षीय हितमा काम गर्ने प्रतिबद्धता जनाए । नेपालका धेरै विद्यार्थी बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको बताउँदै विद्यार्थीका समस्या सम्बोधनमा आफू केन्द्रित हुने बताए । उनले नेपाल र बङ्गलादेशबीच आर्थिक तथा पर्यटन क्षेत्रमा सम्बन्ध स्थापित गर्न पहल गर्ने बताए।
यस्तै कतारका लागि प्रस्तावित डा. भारद्वाजले नेपाली श्रमिकको अवस्था सुधारका लागि कूटनीतिक पहल गर्ने बताए । भारद्वाजले नागरिकको सुरक्षा, मानव अधिकारको समस्यालाई व्यावहारिक रूपमा सम्बोधनको प्रयास गर्ने बताए ।
उनले रोजगारीका क्रममा कतारमा रही घाइते भएका, कोममा रहेका सबै नागरिकलाई स्वदेश फर्काउन पहल लिने पनि बताए । नेपालको हिमालयको पानी कतारमा निर्यातको सम्भाव्यता अध्ययन र प्रयास गर्ने पनि उनको प्रतिबद्धता छ ।
प्रतिक्रिया