काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन् ।
४१औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘पुष्पलाल प्रतिष्ठान’ले मंगलवार कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनु भएका हुन् ।
प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको भन्दै पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको बताए ।
स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा उनकाे तर्क थियाे ।
अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको उनको भनाई थियो ।
उनले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्दै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताए ।
पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको भन्दै उनले अब केही बाँकी रहेका कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।
एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि भन्दै उनले भने, ‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’
प्रतिक्रिया