काठमाडाैं- गृहमन्त्री रामबाहदुर थापा बादलले निर्मला प्रकरणलाई राजनीतिक गरिएको बताएका छन्।
गृहमन्त्रालयको आर्थिक वर्ष ०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।
‘निर्मला पन्तको बलात्कार र हत्या जघन्य अपराध हो’, कार्यक्रममा बोल्दै उनले भने,‘यस किसिमका अपराध कुनै नौलो होइन। यस किसिमका घटना यो भन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहिनै रहने छ।’
यस किसिमका अपराधलाई सरकारले अहिले पूर्णत निषेध गर्न सकिरहेको गृहमन्त्रीको दाबी छ। आपराधिक घटनालाई राजनीतिकरण गरिएको भन्दै उनले दु:ख व्यक्त गरे।
‘मानौं गृहमन्त्रालयले यसका अपराधीलाई बचाउन खोजेको छ भनेर जुन कुप्रचार भइरहेको छ त्यो दुखद घटना हो’,उनले भने। सबै नागरिक समाज, राजनीतिक दल,मिडिया, प्रहरी मिली अपराधीलाई कानुनको कठघरामा ल्याइ पीडितलाई न्याय दिनुपर्ने उनले बताए।
कञ्चनपुर भीमदत्त नगरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। घटना भएको एक वर्ष पुगे पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
१८ सय ठेकेदारलाई कारबाही तयारी
गृहमन्त्रीले ठेकेदारहरुमाथ कारबाही नरोकिएको बताएका छन्। सम्मेलनमा बाेल्दै सम्झौताविपरीत काम गर्ने १८ सय ठेकेदारलाई कारबाही तयारी भइरहेको जानकारी गराए।
ती ठेकेदारको कारबाहीका लागि अख्तियारमा फाइल पुगिसकेको उनको भनाइ छ।
नेत्रविक्रम चन्द विप्लवसँगको वार्ताबारे पत्रकारले राखेको जिज्ञासामा उनले औपचारिक पत्र आदानप्रदान नभए पनि अनौपचारिक ढंगले संवाद चलिरहेको बताए। विप्लव समूहका गतिविधि चुनौतीका रुपमा रहेको उनले स्वीकार गरेका छन्।
निर्मला पन्त हत्याकाण्डबारे भने उनले अनुसन्धान जारी रहेको दोहोर्याए। ‘यो नयाँ घटना होइन। यस्ता घटना भइराख्छन्,’ उनले भने, ‘छानबिन र अनुसन्धान जारी छ।’
प्रतिक्रिया