काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभाग विवाद थप बल्झिएको छ ।
स्कुल विभाग प्रमुखमा दाबेदारी गरिरहेका नेताहरू आफ्नो अडानबाट टसमस नहुँदा विवाद तत्कालै समाधान नहुने देखिएको छ । बैठक बोलाउने अनि सहमति नभएको भन्दै स्थगित गर्ने ‘रोग’ नेकपामा पछिल्ला दिनमा सामान्यजस्तै बन्दै गएको छ ।
स्कुल विभाग प्रमुख चयन गर्नेलगायतका विषयमा केन्द्रित रहेर आइतबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर, प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बिहानको छलफलमा सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको थियो ।
अर्काे बैठक सोमबारका लागि डाकिएको छ । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबारको बैठकमा एकताको बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने बताएकाे खबर राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।
स्कुल विभाग प्रमुखमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी रहँदै आएको छ । श्रेष्ठ पार्टी सचिवालय सदस्य र प्रवक्ताको जिम्मेवारीमा छन् ।
पोखरेल सचिवालय सदस्य र उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारीमा छन् । स्कुल विभाग प्रमुखलाई पछिल्ला दिनमा पूर्वएमाले र पूर्वमाओवादी दुवैले प्रतिष्ठाको विषय बनाउँदै आएको छ ।
स्कुल विभाग प्रमुख श्रेष्ठलाई नै बनाउने विषयमा पूर्वमाओवादीबीच एकमत देखिन्छ । तर, पोखरेललाई दिने विषयमा भने पूर्वएमालेबीच नै एकमत देखिँदैन ।
श्रेष्ठ र पोखरेल दुवैले दाबी गरिरहेको अवस्थामा सचिवालय सदस्य झलनाथ खनालले आफ्नो नाममा सहमति भएको खण्डमा जिम्मेवारी वहन गर्ने बताइसकेका छन् ।
उता, श्रेष्ठ र पोखरेलका साथै पार्टी स्थायी कमिटीका सदस्य घनश्याम भुसाल र डा. वेदुराम भुसालले समेत दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।
यो अवस्थामा अध्यक्षद्वय ओली र दाहाल निरन्तर छलफलमा छन् ।
‘दुवै अध्यक्ष छलफलमै हुनुहुन्छ, सहमति जुटाउने प्रयास जारी नै छ,’ नेकपा एक नेताले भने, ‘आकांक्षीहरू आफ्नो अडानबाट टसमस नभएपछि अलि समय लागेको मात्र हो ।’ स्कुल विभाग प्रमुखको टुंगो लाग्न नसक्दा पार्टी एकताका अन्य काम समेत अलमलमा परेको छ ।
बैठक बोलाउँदै स्थगित
गत साता बसेको सचिवालय बैठकमा विवाद भएपछि जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदै ७ साउनमा सचिवालय बैठक डाकिएको थियो । तर, बैठक स्थगित गर्दै अर्को बैठक ९ साउनमा बस्ने सहमति भएको छ ।
विवाद समाधान नभएपछि ९ साउनको बैठकसमेत स्थगित गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भयो । अनिश्चितकालका लागि बैठक स्थगित भएपछि नेतृत्वले सहमति जुटाउने प्रयास ग¥यो । अध्यक्षद्वय ओली र दाहालबीच पटक–पटक छलफल भयो तर सहमति जुट्न सकेन ।
अर्काे बैठक १२ साउन (आइतबार) का लागि बोलाइयो । तर, विवाद समाधान नभएकै कारण बैठक स्थगित भयो । अर्को बैठक सोमबार (आज)का लागि बोलाइएको छ ।
नेकपामा संगठन, अर्थ, विदेश, स्कुल, प्रचार, मोर्चालगायतका विभागलाई शक्तिशाली विभागका रूपमा लिने गरिन्छ । प्रत्येक विभाग ३५ सदस्यीय हुनेछ । जसमा तत्कालीन एमालेबाट २० जना र माओवादीबाट १५ जना सदस्य हुनेछन् ।
३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । एकीकरण घोषणासभालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले तीन महिनाभित्र पार्टी एकताको काम टुंगो लगाउने उद्घोष गरेका थिए ।
तर, अहिलेसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला इन्चार्ज र जनवर्गीय संगठनको टुंगो लागेको छ । पोलिटब्युरो, विभाग, आयोग, परिषद्लगायतको एकता टुंगो लाग्न अझै बाँकी नै छ ।
प्रतिक्रिया