काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुन्छ, तर सत्य स्थायी र अपराजेय हुने बताएका छन् । प्रधानमन्त्रीले प्राच्य धर्म र संस्कृतिको परम्परामा कुनै पनि कुराको अन्ध अनुशरणको विपक्षमा रहेको उल्लेख गरे ।
ग्लोवल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीप कुमार कुक्रेजाको नेतृत्वमा आएको तीस सदस्यीय प्रतिनिधि मण्डलसँग वालुवाटारमै कुराकानी गर्दै प्रधानमन्त्रीले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गरे ।
प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा बताउँदै उनले भने ‘हाम्रा पूर्खा अनुसन्धाता र आविष्कारक थिए, उनीहरुले सबै विरुवाका पात र जराको परीक्षण गरी औषधिको विकास गरे, आयुर्वेदको विकास गरे ।’
प्रधानमन्त्रीले भने ‘हिन्दुइज्मका नाममा हामीले अन्धअनुशरण गर्नु हुँदैन, हाम्रा पूर्खाले कुनै पनि कुरा परीक्षण पश्चात मात्र विश्वास गर्नु पर्दछ भनेका छन । आज पश्चिममा प्रयोगशालाबाट प्रमाणित गर्ने कुरा गर्दछन, तर हाम्रा पूर्खाले उहिल्यै परीक्षण र पुष्टिको कुरा गरेका थिए ।’
उनले भने ‘दर्शनशास्त्र विश्वको यही भूभागमा उत्पन्न भएको थियो । हाम्रा पुराणहरुमा यो कुराको पुष्टि गरिएको प्रष्टै देखिन्छ । हाम्रा पूर्खाले व्रह्माण्ड र पृथ्वीको उत्पतिका सम्बन्धमा समेत अध्ययन गरेका थिए, उनीहरुले खगोलशास्त्रका विषयमा समेत विहंगम अध्ययन गरेका थिए ।’
हाम्रो गौरवमय परम्परा र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘यही धर्तिमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।’
उनले हाम्रो परम्परा गौरवमय थियो भन्ने कुरा अब कामबाटै प्रमाणित गर्नु पर्ने समय आएको बताए ।
प्रतिक्रिया