काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्काे प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पनि संसदमा अवरोध गरेका छन्।
बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।
उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका छन्। दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे।
कांग्रेसले सर्लाहीमा भएका दुई गोलीकाण्डको छानबिनलाई मुख्य मुद्दा बनाएको छ। राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागमा सोमबारदेखि कांग्रेसले पनि सहमति जनाएपछि संसदमा मोर्चाबन्दी भएको हो। तर मंगलबारै कांग्रेसले लाल आयोगको प्रतिवेदनबारे राजपासँग कुनै कार्यगत एकता नरहेको बताएको थियो।
त्यस्तै असार १५ गते पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाही जिल्लाको बाँके चोकमा विरोध प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो।
सर्लाही र महोत्तरीको सीमामा रहेको बाँके नदीमा बालुवा गिट्टी निकाल्न खनेको खाल्डोमा डुबेर स्थानीय बालक १२ वर्षीय अमृत रायको मृत्यु भएको थियो।
यी दुई घटनामा उनीहरुले संसदीय छानविन हुनुपर्ने भन्दै आएका छन्। तर सरकारले यसको आवश्यकता नभएको भन्दै आएको छ। उनीहरुले भने सत्यतथ्य छानविन गर्न समिति गठन हुुनुपर्ने माग गरेका छन्। अार्काे बैठक भाेली (साउन १६) दिनकाे २ बजे बस्ने भएकाे छ ।
प्रतिक्रिया