+
Search

ताजा अपडेट +

पपुलर +

जब माधव नेपाल र मन्त्री योगेश भट्टराई ‘मिनी संसद’मै रोए

4KNationalDaily
२०७६ श्रावण २०, सोमबार ०७:३७ बजे

काठमाडौं- सिंहदरबारस्थित संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा समितिका सदस्यका रूपमा नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए । सुरुमा समितिका सदस्यहरूले मन्त्री भट्टराईलाई बधाईसँगै सुझावहरू पनि दिए ।

वरिष्ठ नेता नेपालले पनि बधाईसँगै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा गर्नुपर्ने कामबारे सुझाव दिए । नेपाल बोलेलगत्तै समितिमा बोल्ने पालो थियो मन्त्री योगेश भट्टराईको ।

बोल्ने क्रममा मन्त्री भट्टराईले माधवकुमार नेपाल आफ्नो नेता मात्रै नभएर गुरु नै भएको बताए । त्यसपछि उनले २०४३ सालको घटना स्मरण गर्दै आफू मृत्युको मुखमा पुगेको बेला नेता नेपालको एक स्पर्शले आफूलाई बाँच्ने शक्ति प्रदान गरेको स्मरण गरे ।

भट्टराईले २०४३ सालको घटना सम्झिदै भने, ‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीतिअनुसार म काठमाडौंमा खटिएको थिएँ । रातदिन नभनी, खाइनखाई खटिइएछ । त्यसैको असरले होला, म निकै बिरामी परें । शिक्षण अस्पतालमा ६० दिन बसें । डाक्टरले आशा मारिसकेका थिए । ६० दिनको बसाइको क्रममा माधव नेपाल मलाई भेट्न आउनुभयो । त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन । जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो ।

सायद त्यो बाँच्ने आधार थियो ।’ भट्टराई विगतको कुरा गर्दा गर्दै भावुक भए । उनको बोली रोकियो । केहीछिन भक्कानिएर पुराना सम्झनाहरू सुनाए । भट्टराईले नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक रहेको बताए । भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक भए । नेपालको आँखा रसायो । नेता नेपालले आफ्नोे अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछे । अाजकाे राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily