धादिङ– शुक्रबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
मोडमा पुगेपछि घुमाउन खोज्दा बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
सर्लाहीका ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम र ठेगाना नखुलेको एक जना पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमाव वैदवारले बताए ।
यसैगरी नदीले बगाएर ल्याउँदै गरेको अवस्थामा मुग्लिन नजिकैबाट २ जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका अन्य १६ जनाको उपचार भैरहेको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी, र ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको छ ।
गजुरी अस्पताल धादिङमा उपचारपछि डिस्चार्ज भएकाहरु
१.सर्लाहीको गमहरिया नगरपालिका–८ का ३६ वर्षीय दिनेश ठाकुर
२. सर्लाहीको हरिपुर नगरपालिका–७ का ३४ वर्षीय भोगेन्द्र चौधरी
३. सर्लाहीको औरही गाउँपालिका–७ का १५ वर्षीय राहुल महत्तो मध्यम
४. सर्लाहीको हरिपुर नगरपालिका–९ का अमृत लामा
५. सर्लाहीको कबिलासी लाठी गाउँपालिका–६ का ३१ वर्षीय भुपेन्द्र कुमार यादव
६. सर्लाहीको कबिलासी गाउँपालिका–४ का ३३ वर्षीय राय यादव
७. भारतको बिहार सितामणि, पनौलीथाना–४ का ४२ वर्षीय भिरेन्द्र ठाकुर
काठमाडाैं ट्रमा सेन्टरमा उपचार भैरहेका घाइतेहरु
१. भारत सितामणिका ४० वर्षीय धिरेन्द्र ठाकुर
२. सर्लाहीको कबिलास गाउँपालिका–४ का ३२ वर्षीय बिजय यादव,
३. सर्लाहीको हरिपुर गाउँपालकिा–४ का २८ वर्षीय प्रमोद कुँवर, सहचालक
४. सर्लाहीको मलंगवा नगरपालिका–११ का १६ वर्षीय सिकिन्द्र कुमार महतो
५. सर्लाहीको विष्णु गाउँपालिका–५ का २१ वर्षीय कुश रन्जम महतो
६. सर्लाहीको ब्रहमपुरीकी १६ वर्षीया स्वेता रौनियार
७. सर्लाहीको हरिहरपुर नगरपालिकाका ४० वर्षीय बस चालक जीवन बिक
८. सर्लाहीको ब्रहमपुरी–६ का राकेश बैठा
९. अन्य दुई जनाको नाम खुलेको छैन ।
ना ६ ख ७४६९ नम्बरको याात्रुवाहक बस शुक्रबार बिहान ३ बजे नदीमा खसेपछि केही व्यक्तिले पौडेर ज्यान बचाएका थिए । राति पौडेर ज्यान बचाए पनि उनीहरुको बिहान ७ बजेमात्र दुई जनाको नदी किनारको खोचबाट उद्धार गरिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको छ ।
बसमा मलंगवाबाट ३९ जना यात्रु र हरिपुरबाट दुई जना यात्रु चढेको यातायात समितिले जनाएको छ । त्यही बसमा सवार ‘बी’ १६ नम्बर सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर चार जना मानिस मुढामा बसेको र सवारी चालक दलका सदस्यबाहेक क्याबिनमा अन्य चार जना रहेका थिए ।
यात्रुहरु सबैको टिकट नभएको बताइएको छ । यातायात समितिले ३८ जनाको चलानी गरी पठाइएको स्पष्ट पारेको छ ।
दुर्घटनामा परेका यात्रुहरुको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसका स्वयंसेवकले उद्धार गरेका थिए । प्रहरीले भने चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिक्रिया