काठमाडौं- सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल र छवी ओझाविरुद्धको बहुविवाहको मुद्दामा भदौ १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ। त्यसअघि शिल्पालाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको छ।
प्रधानन्याधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले आइतबार सो आदेश गरेको हो। बहुविवाह मुद्दामा काठमाडौं जिल्ला अदालतले छवी र शिल्पाबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार थिए।
आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि शिल्पा उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेकी थिइन्।
शिल्पाको उक्त निवेदनमा साउन २४ गते सुनुवाइ गर्दै उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो। उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्।
छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो।
गत साउन ५ गते विवादित फिल्म निर्माता छवि ओझा र नयिका शिल्पा पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।
प्रतिक्रिया